काठमाडौँ, भदौ १८ । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई मुख्य एजेन्डा बनाउनुभएको छ। रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको एजेन्डा टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा सो कुरा उठाउनुभएको हो।
बैठकको ‘साइडलाइन’ बैठकमा मन्त्री चौधरीले विभिन्न उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्दै नेपालको विपद् व्यवस्थापन, पर्वतीय मुद्दा र जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय समुदायसँग सशक्त लबिङ गर्नुभएको छ।
आगामी कोप –३१ को सह–आयोजक अस्ट्रेलियाली प्रतिनिधिमण्डलबिच महत्त्वपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व मन्त्री चौधरीसँग अस्ट्रेलिया सरकारका तर्फबाट कोप–३२ वार्ता सचिवालय प्रमुख इन्ग्रिड लुन्डाबर्ग र अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी प्रमुख टिसा केली सहभागी हुनुहुन्थ्यो ।
द्विपक्षीय वार्ताकाक्रममा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट अस्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गर्दै विपद्मा केही अस्ट्रेलियाली नागरिक समेत बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभएको छ । साथै, उहाँले बेपत्ताहरूको खोजी तथा उद्धारमा नेपाल सरकार पूर्ण रूपमा खटिरहेको जनाकारी गराउनुभयो ।
मन्त्री चौधरीले रसुवाको अपूरणीय आर्थिक तथा गैर–आर्थिक क्षति नेपाल एक्लैले सम्हाल्न नसक्ने स्पष्ट पार्दै कोप–३१ को सह–अध्यक्षका रूपमा अस्ट्रेलियालाई सहज र अनुदानमा आधारित अनुकूलन वित्त प्रवाहका लागि सहजीकरण गरिदिन आग्रह समेत गर्नुभएको छ ।
साथै, नेपालले हानि तथा नोक्सानी कोष सञ्चालक समितिलाई पठाएको पत्रलाई गम्भीरतापूर्वक लिइ कोषबाट चाँडो आर्थिक सहयोग उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवादलाई वार्षिक रूपमा निरन्तरता दिन अस्ट्रेलियाको विशेष ध्यानाकर्षण पनि गराउनुभयो।
यसअघि मन्त्री चौधरीले एलडीसी समूहका अध्यक्ष राजदूत अडाओसँग विशेष द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँले नेपाल सरकारले ‘हानि तथा नोक्सानी कोष’ बाट तत्काल सहयोग पाउन दिएको औपचारिक निवेदनलाई एलडीसी समूहले साझा एजेन्डाका रूपमा अघि बढाइदिन आग्रह गर्नुभएको थियो ।
