• ट्रेण्डिङ्ग :
हिमबाढी पीडितको पुनःस्थापना पहल सुरु, सुरक्षित जग्गा पहिचान गरिँदै

हिमबाढी पीडितको पुनःस्थापना पहल सुरु, सुरक्षित जग्गा पहिचान गरिँदै


  • 1.5K
    SHARES
    • भाद्र १९, २०८३ शुक्रबार
    • २ हप्ता अघि
    • 2.3K Views

    हिमबाढी पीडितको पुनःस्थापना पहल सुरु, सुरक्षित जग्गा पहिचान गरिँदै

    काठमाडौँ, भदौ १९ गते । सरकारले भोटेकोशी हिमबाढी पीडितको पुनःस्थापना यथाशीघ्र गर्न पहल थालेको छ । पुनःस्थापनाका लागि सुरक्षित जग्गा पहिचानका निम्ति भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको छ ।

    images

    रसुवा–भोटेकोशी क्षेत्रमा आएको हिमबाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरिएको हो ।

    नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठित समितिले पुनःस्थापनाका लागि आवश्यक पहल लिन प्रारम्भिक कार्य थालेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको छ ।

    समितिले हिमबाढीपीडित परिवारको पहिचानदेखि पुनःस्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपत् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर स्पष्ट सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने म्याण्डेट पाएको छ ।


    तेस्रो आँखा