काठमाडौं, २० चैत्र। सरकारले वैशाख ३० गते तोकेको स्थानीय तहको निर्वाचन आउँन ३९ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै निर्वाचनको लागि आवश्यक तयारी गर्न सम्बन्धित संयन्त्रहरु सक्रिय रुपमा लागेका छन् । निर्वाचन आयोले आफ्नो तयारीहरु पुरा गर्दै आएको बताएको छ । यो सँगै निर्वाचन सुरक्षाको तयारी तथा सुरक्षा व्यवस्थालाई महत्वका साथ हेरिन्छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरिक्षक विष्णु कुमार केसीले आगामी निर्वाचनका लागि नेपाल प्रहरीको तर्फबाट गर्नुपर्ने सबै तयारीहरु अन्तिम रुपमा पुगेको बताएका छन् । ‘नेपाल प्रहरीेले निर्वाचनको तयारी कार्यलाई तिब्ररुपमा अगाडी बढाइरहको छ’, केसीले तेस्राे आँखासँग भने ‘हामीले मतदान केन्द्रमा खटाउने प्रहरीको बुथलाई छुट्याईसकेका छौं, अब म्यादी प्रहरीको टुंगो लगाएपछि मुलरुपमा निर्वाचको तयारी पुरा हुने छ ।’
निर्वाचनमा सुरक्षाका दृष्टिले केही चुनौतीहरु भएपनि त्यस्ता चुनौतीलाई चिर्न र सुरक्षित मतदानको व्यवस्था गर्न प्रहरी सक्षम रहेको केसीले बताए । गत चैत ६ गते देखि ११ गते सम्म म्यादी प्रहरीमा भर्ना दिने आवेदन खुलेको थियो । जसमा चैत्र १५ गतेबाट छनोट प्रक्रिया प्रारम्भ भएको छ भने २२ चैत्रमा नतिजा प्रकाशन गरिदै छ । त्यसपछि चैत्र २८ गते बाट प्रशिक्षण सुरु गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो संख्या बढाएर यो पटक प्रहरीले एक लाख म्यादी भर्ना गर्दै छ । एक लाख म्यादी आवश्यक भएकोमा दुई लाख ९३ हजार तीन सय १२ जनाको आवेदन परेको थियो । अहिले छनोट प्रक्रिया चलिरहेको छ ।
अब सुरक्षाको देष्टिकोणले मुख्य रुपमा म्यादी प्रहरीलाई टुंगो लागाउने काममात्र बाँकी रहेको प्रवक्ता केसीको भनाइ छ । अघिल्ला निर्वाचनहरुमा देशका दुर्गम स्थलका मतदान केन्द्रहरुमा नेपाल प्रहरीको सञ्चार सेटहरु नचल्ने समस्या भएपनि यसपटक सबै मतदान केन्द्रहरुमा टेलिफोन तथा प्रहरी सञ्चार सेटहरुले राम्रोसँग चल्ने अवस्थामा रहेको बताइएको छ ।
