काठमाडौँ, कात्तिक २३ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३१) मा नेपाल पेभिलियनको उद्घाटन गर्नुभएको छ।
नेपालको जलवायु महत्वाकाङ्क्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो।
पेभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो। उहाँले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गर्नुभयो।
हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उहाँले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको उल्लेख गर्नुभयो।
परराष्ट्रमन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
साथै, हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो।
उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहता, सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले समेत सम्बोधन गर्नुभएको थियो।
