• ट्रेण्डिङ्ग :
नागार्जुन नगरपालिका उपप्रमुखमा रिता र रेखाको चर्चा

नागार्जुन नगरपालिका उपप्रमुखमा रिता र रेखाको चर्चा


  • 6.4K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नागार्जुन नगरपालिका उपप्रमुखमा रिता र रेखाको चर्चा

    काठमाडौं, ५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौंको नागार्जुन नगरपालिकामा राजनैतिक दलहरुले आ–आफ्नो उम्मेदवारहरुलाई चर्चामा ल्याएका छन् । साविकको इचङ्गु, सीतापाइला, रामकोट, भिमढुङ्गा र स्यूचाटार गाविस मिलाएर १० वटा वडामा विभाजन गरिएको छ । यो नगरपालिकामा करिब ३२ हजार १८ मतदाता रहेका छन् ।

    images

    हालको राजनैतिक अवस्था अनुसार क्षेत्र नम्बर ७ मा पर्ने १,२,३ वडा र क्षेत्र नम्बर ८ मा पर्ने ४ नं. वडामा एमालेले जितेको छ भने वडा नं. ५ मा राप्रपाले जितेको छ । सोही वडाका वासिन्दा मोहनबहादुर बस्नेतले मेयरमा र शुशिला अधिकारीले उपमेयर जितेका थिए । क्षेत्र नं. ९ मा पर्ने ५ वटा वडाहरु ६,७,८, ९ र १० मा कांग्रेसले जित हासिल गरेको थियो । त्यसैले कांग्रेस र एमालेको आँखा क्षेत्र नं. ९ को मतदातातर्फ बढी आकर्षित भएको देखिन्छ । ऐतिहासिक रुपमा कांग्रेसको अखडा रहेको स्युचाटारबाटै मेयर उपमेयर नबनाउँदा नगरपालिकाभित्र राजतैतिक समीकरण भत्किन सक्ने आंकलन गरिएको छ । 

    कांग्रेस र एमालले दुई प्रमुख पद मध्ये एक पद स्यूचाटार क्षेत्रबाट उम्मेदवार बनाउनु पर्ने माग उठाइरहेका छन् । कांग्रेसबाट याे नगरकाे उपमेयरकाे आकांक्षीमा रिता दवाडी अग्रपंक्तीमा देखिन्छिन् । त्यसैगरी, यसभन्दा अगाडि उपमेयरमा पराजित कल्याणी खड्का र सरस्वती भट्टले पनि दावी गरिरहेका छन् । नेतृ रिता दवाडी कांग्रेसको १३ औं महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतका साथ विजयी हुँदै आएकी छन् । उनी विगत १७ वर्षदेखि नेपाल महिला संघ काठमाडौको जिल्ला कार्यसमिति सदस्य समेत हुन् । 

    हाल महिला संघको प्रवक्ताको रुपमा काम गर्दै आएकी दवाडी उद्योगी व्यवसायीको छाता संस्था नेपाल मुद्रण उद्योग संघको वरिष्ठ उपाध्यक्ष, लायन्स क्लब अफ जर्नालिष्टका कोषाध्यक्ष छन् । प्रस्तावित रामकोट सिताराम क्याम्पसको कोषाध्यक्ष, लायन्स ब्लड बैंकको संस्थापक, नेपाल पत्रकार महासंघको सदस्य, नेपाल बाणी मिडिया ग्रुपको प्रवन्ध निर्देशक, मुना प्रिन्टिङ ग्रुपको प्रोपाइटरसमेत रहेकी दवाडी राजनीतिकर्मीका रुपमा परिचित नाम हो । 

    राजनीतिलाई सेवाको भावना लिएर ४ दिन रोटी र ३ दिन पार्टीलाई भन्दै राजनीतिमा होमिएकी दवाडी सफल व्यवसायी पनि हुन् । आफ्नो व्यवसाय गरेर राजनीतिमा शुद्धता ल्याउनु पर्ने धारणा राख्ने दवाडी निकै अगाडिदेखि संचार क्षेत्रमा लागेकी हुन् । लामो सदयदेखि समाज सेवा, राजनीति र व्यवसायलाई संगै लिएर निरन्तर नागरिकको सेवामा रहेको बताउने दवाडी आगामी स्थानीय तहको निर्वाचनमा उपप्रमुखको बलियो दावेदारीका रुपमा आफूलाई स्थापीत गरेको बताउँछिन । 

    उनीसँग प्रतिस्पर्धीको रुपमा रहेकी कल्याणी खड्का १४ औं महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि हुन । गत स्थानीय तहको निर्वाचनमा उनी उपमेयरमा पराजित व्यक्ति हुन । गत निर्वाचनमा पराजित भएरकाले एक पटक आफूले टिकट पाउनु पर्ने खड्काको दावी छ । त्यस्तै उपमेयरका आकांक्षी क्षेत्र नं.७ साविकको इचंगुबाट सरस्वती भट्ट, डा. अम्बिका रेग्मी नयाँ अनुहार हुन भने इचंगुकै पुनम लामा बुढानीलकण्ठ निवासी हुन् । रामेश्वरी ठकुराठी र बन्दना खड्का जागिरबाट राजनीतिमा भर्खर सक्रिय भएका नाम हुन् । 

    एमालेले पनि पार्टीको तर्फबाट हालसम्म तीन जनाको नाम प्रस्तावित गरेको छ । जसअनुसार वर्तमान उपमेयर सुशीला अधिकारी, क्षेत्र नं. ८, वडा नं. ५, नेकपा नागार्जुन नगर कमिटि सचिवालय सदस्य सपना अर्याल क्षेत्र नं. ७ वडा नं. ३ र रेखा पुरी क्षेत्र नं. ९ वडा नं. ६ मध्येबाट नागार्जुन नगरपालिकामा उपमेयरको प्रत्यासी बनाउने रणनीति एमालेको रहेको देखिन्छ । जसअनुसार हालको उपमेयर सुशीला अधिकारी र उद्योग व्यवसायी रेखा पुरीबीच प्रतिष्पर्धा बढी देखिनछ । 

    निर्वाचन क्षेत्रगत आधारमा हेर्ने हो भने संघीय निर्वाचन क्षेत्र नं. ७ को तीन वटा वडामा १० हजार १९५, क्षेत्र नं. ८ को दुई वटा वडामा ७ हजार २६५ र क्षेत्र नं. ९ को ५ वटा वडाहरुमा १४ हजार ५५८ जना मतदाता रहेका छन् । क्षेत्र नं ९मा १४ हजार ५५८ जना मतदाता रहेकोले पनि ९ नम्वर क्षेत्रबाटै नगरको प्रमुख र उपप्रमुखमध्ये एकजना उम्मेदवार बनाउनु पर्ने स्थानीय कांग्रेसका नेताहरुले जोड दिइरहेका छन् । त्यसमा पनि वडा नं ६ र ७ मा मात्रै ७ हजार ६३० मतादाता रहेकाले उपमेयरको उम्मेदवार यी वडाबाट बनाउँनुपर्ने स्थानीयको माग छ । जनघनत्व र मतदाता अत्याधिक रहेको वडा नं. ६ र ७  बाटै दुवै पार्टीले उपमेयरको प्रत्यासी बनाउँने रणनीतिमा रहेको नेताहरुको भनाइ छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप