काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत आजदेखि सातै प्रदेश अधिवेशन गर्दैछ । सातै प्रदेशमा सभापति शेरबहादुर देउवाले एकैसाथ भर्चुअल मार्फत प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको छ । वागमति प्रदेशको हेटौंँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढी, प्रदेश १ को विराटनगर र प्रदेश २ को जनकपुरमा एकै साथ प्रदेश अधिवेशन उद्घाटन भएको छ ।
प्रदेश अघिवेशनबाट प्रदेश सभापति एक, दुई उपसभापति, दुई महामन्त्री, एक महिला सहित ३ सहमहामन्त्री, निर्वाचन पदाधिकारीबाट एक जना कोषाअध्यक्ष मनोनयन सहित ६० देखि ८० जना पदाधिकारी निर्वाचित भएर आउने छन् । केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले प्रदेश अनुसार कार्यसमितिको संख्या घटबढ हुनसक्ने बताउनुभयो ।
प्रत्येक जिल्लाबाट एक महिला सहित दुई जना अनिवार्य प्रदेश कार्यसमितिमा आउने व्यवस्था विधानमा छ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधीसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधी र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधीहरु, सम्बन्धीत प्रदेशका भातृ संस्थाका सभापतिले मतदानमा सहभागि हुन पाउने छन् । तीनदिन चल्ने प्रदेश अधिवेशनमा शुक्रबार मनोनय दर्ता गर्ने कार्यतालिका रहेको छ ।
शुक्रबार साँझ साढे ७ बजे उम्मेदवारको अन्तिम नामावलि प्रकाशन गरिएसंगै शनिवार बिहान ८ बजे मतदानको कार्यतालिका तय भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश अधिवेशनमा मुख्यतया संस्थापन र संस्थापन इतरपक्षबी प्रतिस्पर्धा हुने देखिएको छ ।
