काठमाडौं, २२ मंसिर। कांग्रेस सभापति शेरबहादुर देउवाले आकांक्षी घेरैभएपछि संख्या निश्चीत गर्न प्रदेशलाई जिम्मेवारी दिएका छन् । आसन्न १४ औं महाधिवेशन अन्र्तगत उम्मेदवारको टुंगो लगाउन संस्थापन पक्षले गरेको छलफलमा प्रदेशगत उम्मेदवारी टुंग्याउन सम्बन्धीत प्रदेश प्रमुखलाई जिम्मेवारी दिने सहमति बनेको हो ।
देउवाले प्रदेशगत रुपमा उम्मेदवार टुंग्याउन निर्देशन दिएका छन् । आफूनिकट नेताहरूसँग बुढानीलकण्ठस्थित निजी निवासमा बुधबार आयोजित छलफलमा देउवाले आकांक्षीहरुलाई मिलेर आउन भनेको एक नेताले बताए । सभापतिमा जित सुनिश्चित खोजिरहेका देउवाले सहभागीको धारणा बुझेपछि प्रदेशगत रूपमा छुट्टाछुट्टै छलफल गरेर उम्मेदवारको नाम सिफारस गर्न निर्देशन दिएका हुन । सिफारिस भएर आएका नामहरु हेरेर बिहिबार बेलुकासम्म देउवाले आफ्नो समूहबाट उठ्ने उम्मेदवारहरुको नाम घोषणा गर्ने तयारी गरेका छन् ।
देउवाले आफूलाई केन्द्रमा राखेर बुधबारको बैठकमा सभापति कसरी जितिन्छ ? तपाईंलाई किन उम्मेदवार बनाउने भनेर प्रश्न गरेका थिए । पाँच घण्टासम्म भएको छलफलमा आकांक्षीहरु धेरै देखिएको देउवा सचिवालयले जनाएको छ । बैठकमा बालकृष्ण खाँण, एनपी साउद र प्रकाशशरण महतले महामन्त्रीमा उठ्ने आकांक्षा देखाएका थिए । यस्तै, महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका विश्वप्रकाश शर्मालाई भने देउवाले सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेको नेताहरुको भनाई छ ।
