काठमाडौं, ९ साउन। सांसद डा. बिमला पौडेले नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको आरोप लगाएकी छन्।
सोमबार राष्ट्रियसभामा नेपाल नागरिकता ’पहिलो संशोधन’ विधेयध, २०७९ माथि छलफलमा भाग लिँदै सांसद पौडेलले नागरिकता विधेयकलाई हतारमा ल्याएर संसदको अवमूल्यन गरेको भन्दै आपत्ती जनाइन्। ’नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको छ। ससद्को अवमूल्यन गरेको छ। सांसदको स्वविवेक निर्णय गर्ने कुरा पनि अवमूल्यन गरेको छ,’उनले भनिन्,’ गठबन्धनका नेताहरुको बलमिच्याइँ देखिएको छ।यो प्रकियामा मेरो पूरै असहमत छ।’
साढे ६ लाखभन्दा बढी नागरिक नागरिकताविहीन रहेको भन्दै सांसद पौडेलले तिनीहरुले जसरी पनि नागरिकता पाउनुपर्ने बताइन्। उनले सरकारले मौका छोपेर केही डर लाग्दा प्रावधानहरु ल्याएको बताइन्। नागरिकता संशोधन विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिइने प्रावधानको भने उनले स्वागत गरिन्। उनले भनिन्,’ नागरिकता संशोधन विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिइने जुन प्रावधान आएको छ। त्यो सही छ। त्यो सही भएका कारणले यो विधेयक फिर्ता गर्नका लागि अप्ठ्यारो भएको छ।’
सार्क मुलुकका हरेक देशमा वैवाहिक अंगिकृत नागरिकताको समयसीमा रहेको भन्दै उनले वैवाहित अंगीकृत नागरिकताको प्रावधानमा समयसीमा किन नराखेको भन्दै प्रश्न गरिन्। उनले भनिन,’ सार्क मुलु्कमा हेर्ने हो भने भारत, अफगानिस्थान, श्रीलंकामा वैवाहिक अंगिकृत नागरिकता ७ वर्षमा पाइन्छ। पाकिस्तानमा ५ वर्ष, माल्दिभ्समा १२ र बंगलादेशमा २ वर्षमा पाइने व्यवस्था छ। नेपालमा आउने वित्तिकै ।’
’किन यस्तो प्रावधान राखियो। ७ वर्ष प्रतिनिधिसभाले भन्दा भन्दै यो सरकारले कसको इन्टरेस्टमा गर्यो यहाँ यसबारे प्रष्ट पारिनुपर्छ। छोराले विवाह गरी ल्याएको विदेश बुहारीले आउने वित्तिकै पाउँछ छोरीले विदेशसँग विवाह ग¥यो भने कहिल्यै पाउँदैन। यो प्रावधान राखेको छैन,’उनले भनिन् । नागरिक विधेयकमा लैंगिक विभेद र पितृसत्ताको बल मिच्याइँ स्पष्ट देखिएको उनको भनाइ छ।
