उदयपुर १८ साउन । गएरातीदेखि उदयपुरको बेलका नगरपालिकामा पर्ने तटीय क्षेत्रका मानव बस्तिमा सप्तकोसी नदी पसेको छ । लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका नगरपालिका– ८ डुम्रीबोटेमा पर्ने लाहुर खोचमा कटान गर्दै नदी मानव वस्तिमा पसेको हो ।
बेलका नगरपालिका–३ का वडा अध्यक्ष टंकप्रसाद आचार्यले गएरातीबाट सप्तकोसी नदीे मानव बस्तिमा प्रवेश गरेको बताए ।गएको असार ५ गतेदेखि कोसीमा पानीको वहाव बढेसँगै कटान पनि बढ्दै गएको थियो ।
अहिले पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिमा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका नगरपालिका–८ को सिसौली बस्ति, वडा नम्वर ९ को रंशशाला क्षेत्र, वडा नम्वर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवी लगायतका गाउँमा सप्तकोसी बगेको छ ।
कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकाकासँगै सुनसरीको बराहा क्षेत्र नगरपालिकाको वडा नम्वर ६ र ७ पनि प्रभावित हुने भएको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए ।
उनले अहिलेसम्म कोसीमा पानीको वहाव बढ्दा सप्तकोसी ब्यारेजमा रहेका सबै ढोका नखोल्दा समस्या आएको बताए । कार्कीले सार्वजनिक भवन, विद्यालय लगायतमा विस्थापित स्थानीयलाई राख्ने तयारी भएको पनि बताए । सिँचाई विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय, नगरपालिका कटान रोक्ने प्रयास जारी राखे पनि असफल भएको छ ।
सप्तकोसी नदीको तटीय क्षेत्रमा कटान र डुबान हुनुमा सप्तकोसी ब्यारेज मुख्य कारण रहेको बताइएको छ । ब्यारेजबाट पानी बग्न नपाउँदा यस पटक पनि मानव वस्तिमा कोसी पसेको कार्कीले बताए ।
कोसी कटानबाट उदयपुर, सप्तरी र सुनसरीका सयौँ बस्ती प्रभावित छन् । नेपाल–भारतबीच सन् १९५४ मा बहुउद्देश्यीय कोसी सम्झौता भएको थियो । कोसी सम्झौताअनुसार भारत सरकारले नदीका दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले सप्तकोसी नदीको बाँध फुटेर मानव वस्तिमा प्रवेश गरेको जानकारी आएसँगै आफुहरु पनि प्रभावित क्षेत्रमा हिडेको बताए ।
याे समाचार उदयपुरबाट बिदुर कटुवालले नयाँ पत्रीकामा लेखेका छन् ।
