काठमाडौं, २१ साउन। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन र सत्ता सबै थोक नभएको बताएका छन्। पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै भट्टराईले सत्ता, सडक र सदनबाट संघर्ष गरेर मात्रै बाँकी कार्यभार पूरा हुने बताएका हुन्।
उनले भने,‘निर्वाचनको मुखमा नयाँ पार्टी गठन गरेका छौं। निर्वाचन र सत्ता सबथोक होइन। सत्ता, सडक र सदनबाट संघर्ष गरेर मात्रै बाँकी कार्यभार पूरा गर्न सक्छौं। कांग्रेस र कम्युनिष्टको विकल्पमा समाजवादी विचारको कल्पना गरेका थियौं। बैकल्पिक राजनीतिमा लागेका हामी निर्वाचनलाई संघर्षको साधन मान्छौं। नेपालमा कांग्रेस र कम्युनिष्टको विकल्पमा वैकल्पिक शक्तिको खोजीमा थियौं। तर, जनता समाजवादी पार्टी क्षेत्रीय दलको रुपमा परिणत भयो। त्यसपछि हामीले रुपान्तरणको सम्भावना खोज्यौं।’
सडक, सदन र सरकारको संयोजनबाट सुशासन र समाजबादको लक्ष्य प्राप्त हुने उनले बताए। उनले भने, ‘विचार मिल्ने साथीहरुसँग सहकार्य गर्ने कि एक्लै चुनाव लड्ने समीक्षा गरेर अघि बढ्छौं। अब यो पार्टीलाई देश व्यापी रुपमा पुनर्गठन गरेर जान्छौं। चुनावमा नजिकका विचार मिल्नेहरुसँग तालमेल गर्नुछ।’
