विराटनगर २४ साउन। मोरङको कानेपोखरी गाउँपालिकामा रहेको ‘कानेपोखरी संरक्षण’को नाममा कानको स्तम्भ बनाएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
संघीय सरकारका तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालको पहलमा कानेपोखरी संरक्षणका लागि सशर्त अनुदानमार्फत ५० लाख रकम आर्थिक वर्ष ०७७/०७८ को अन्तिम चौमासिकमा निकासा भएको थियो ।
उक्त रकमले पोखरीको प्रवेशद्वार, शौचालय, प्रतीक्षालय, ट्र्याक ओपन, गिट्टी बिछ्याउने, कान र हरिणको प्रतिमा, ह्युमपाइप जडान लगायतको काम भएको कानेपोखरी गाउँपालिकाले जनाएको छ । यद्यपि सामाजिक सञ्जालमा भने कान बनाएको विषयमा चर्को आलोचना भइरहेको छ ।
पूर्व सचिव भीम उपाध्यायले ४१ लाखमा बनेको कानको स्तम्भ भन्दै फेसबुकमा पोष्ट गरेपछि यसको आलोचना अझै तीव्र बनेको थियो । गाउँपालिकाले भने सामाजिक सञ्जालमा आएजस्तो कान बनाउनकै लागि ४१ लाख खर्च नभएको जनाएको छ ।
गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, लेखा अधिकृत अजित भट्टराईले विवरण सार्वजनिक गर्दै कान बनाउँदा ५ लाख खर्च भएको जनाएका छन् । त्यस्तै दुईवटा हरिणको प्रतिमा बनाउन पनि ५ लाख खर्च भएको जनाइएको छ ।
