चीनको कडा कुटनितिक तबाबका बाबजुद अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गत अगस्त २ तारिखका दिन ताइवान टापुमा भ्रमण गरिन् । पेलोसीको ताइवान भ्रमणलाई अनौपचारिक र नितान्त पेलोसीको व्यक्तिगत मामिला भनिएपनि चीनले भने यस भ्रमणलाई आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता र 'एक चीन नीति' विरुद्ध हो भन्ने ठानेको छ । चीनको मुख्य भुमिले संसारमा एउटा मात्रै चीन छ जुन बेइजिङको नेतृत्वमा छ भन्ने मान्यता राख्दछ भने ताइवानचाहिँ आफुलाई स्वतन्त्र देश ठान्दछ।
चीनले न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे निकै खतरनाक परिणाम निम्तिने र त्यस्ता खतरनाक परिणामहरुको जिम्मेवारी अमेरिका हुने भनेर कडारुपमा चेतावनी दिएको थियो। अझ चीनका राष्ट्रपतिले त अमेरिकन राष्ट्रपतिसँगको भर्चुअल टेलिफोन वार्तामा 'आगोसँग खेल्नेहरु जल्ने छन्' भनेर अमेरिकालाई निकै कडा चेतावनी दिएका थिए। तर पेलोसीले ताइवान भ्रमण गरि छाडिन् ।
'आगोसँग खेल्नेहरु जल्ने छन्' भनेर कडा चेतावनी दिएको चीनले अब के कदम चाल्छ होला भनेर संसारले हेरेर बसिरहेको थियो। पेलोसीको भ्रमणको विरोधमा चीनले गत अगस्त ४-७ तारिखसम्म ताइवानलाई ६ ठाउबाट घेरा हालेर सैन्य अभ्यास गर्यो। सैन्य अभ्यास ७ तारिखका दिन सकिने भनिएपनि जारी राख्ने निर्णय चीनले गर्यो तर अचानक अगस्त १० तारिखमा आएर छोटो वक्तव्य निकाल्दै चिनियाँ जनमुक्ति सेनाका पूर्वी क्षेत्रीय कमाण्डका प्रवक्ता शि यीले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास सफलताका साथ सकिएको बताएका थिए।
किन चीनले अचानक सैन्य अभ्यास समापन भएको घोषणा गर्यो? के चीन अमेरिकासामु डराएर कै हो त ! के कारणले गर्दा तत्कालै चीनले ताइवान माथि आक्रमण गरेन? अमेरिकाको यस मुद्दामा के स्वार्थ छ? यस्ता तमाम प्रश्नहरु सुन्नमा आएका छन् ।
अमेरिकाको स्वार्थ
अमेरिकाले युक्रेनलाई नेटोमा सामेल गर्छु भनेर रुसलाई उत्तेजक पार्ने काम गर्यो। रुसको सिमानामा नै नेटोको प्रवेश हुनु भनेको सरासर रुसको राष्ट्रिय सुरक्षामाथिको खतरा हो । रुसलाई निगरानी गर्न र सके उसलाई तह लगाउनेसम्मको तयारीकासाथ नेटो युक्रेन प्रवेश गर्न लागेको थियो। सन् १९९१ मा सोवियत संघको पतनपछि नेटोले पुर्वी युरोपका देशहरु त्यो पनि पहिले सोभियत संघको हिस्सा भएका देशहरूलाई सामेल गरेर सधैंभरि कसरी रुसलाई कमजोर पार्न सकिन्छ भन्ने रणनीति बनायो।
रुसका लागि युक्रेन निकै भू-राजनीतिक महत्व बोकेको देश हो । यस्तो अवस्थामा रुसले युक्रेनमाथि आक्रमण गर्न बाध्य भयो । यस युद्धबाट सबैभन्दा फाइदा अमेरिकालाई भएको छ । रुसको आक्रमणलाई बहाना बनाएर अमेरिकाले रुसलाई अन्तराष्ट्रिय मञ्चमा एक्ल्याउने प्रयास गर्यो। अमेरिकाले आफ्नो तथाकथित प्रजातन्त्र र मानव अधिकारको मुद्दालाई आफ्नो घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोग गर्ने अवसर प्राप्त गर्यो । यसै मुद्दालाई बाहाना बनाएर अमेरिकाले रुसलाई संसारबाटै अलग्याउने रणनीति बनाएको झल्को प्रष्ट देखिन्थ्यो। अमेरिकाले जे जस्तो रणनीति बनाएको भएपनि खासै सफलता चाहिँ हासिल गर्न सकेन।
अहिले संसारमा आर्थिक संकटले सबैलाई नराम्रोसँग प्रभावित पारेको छ। स्वयम अमेरिका पनि प्रभावित छ तर उसको हतियार व्यापार चाहि २ गुणा बढेको छ । अमेरिकाको लागि हतियार व्यापार निकै महत्वपूर्ण विषय हो किनकि अमेरिकाको हतियार व्यापार आर्थिक आम्दानीको एक मुख्य आधार हो । अमेरिकाले रुसको आक्रमणलाई देखाएर युरोपमा हतियारको व्यापार गर्ने सुनौलो अवसर प्राप्त गरेको छ ।
रुस युक्रेन युद्धपछि युरोपका ठूला देशहरु जर्मनी, फ्रान्स लागायतका अन्य साना देशहरूले आफ्नो वार्षिक सैन्य बजेट वृद्धि गर्ने घोषणा गरिसकेका छन्। यि देशका सैन्य बजेट वृद्धि हुनु भनेको अमेरिकी हतियारको माग बढ्नु हो किनभने युरोपका लागि हतियार निर्यात गर्ने मुख्य देश अमेरिका हो ।
अमेरिकाले चीनलाई पनि उत्तेजित गरेर ताइवानमा आक्रमण गरोस् भन्ने सोचेको थियो तर चीनले आक्रमण गरेन । चीनले आक्रमण गरेको भए अमेरिकाले चीनको त्रास देखाएर ताइवान लगायत विभिन्न आसियान देशहरूमा हतियार व्यापार गर्ने ठूलो योजना बनाएको देखिन्छ । चीनको आक्रमणलाई बहाना बनाएर चीनलाई पनि विभिन्न कुराहरुमा प्रतिबन्ध लगाउने अमेरिकाले सोचेको थियो ।
कुनै समय सोभियत संघलाई टक्कर दिन अमेरिकाले चीनलाई प्रयोग गर्यो तर आज त्यहि चीन आफ्नो लागि घाँडो बनेर आएपछि चीनको समग्र विकासलाई रोक्न अमेरिका अहिले हात धोएर लागेको छ। त्यसकारण, अमेरिकाले चीनलाई कमजोर पार्ने उद्देश्यले नै उसले विशेषगरी ताइवान कार्ड र तिब्बती शरणार्थीको मुद्दा उठाउने गर्दछ । तर चीनले आक्रमण गरेन बरु अमेरिकामाथि कुटनीतिक दबाब सृजना गर्यो। न्यान्सी पेलोसी र उनका परिवारलाई प्रतिबन्ध लाग्यो भने जलवायु परिवर्तन,सैन्य सम्बन्ध र लागुऔषध विरोधी प्रयासका विभिन्न विषयमा अमेरिकासँगको वार्तालाई तत्कालका लागि निलम्बन गर्यो।
किन चीनले सैन्य अभ्यास समापन भएको घोषणा गर्यो?
चीनले निकट भविष्यमा ताइवानलाई मुख्य भुमिमा जसरी हुन्छ एकिकरण गर्नेछ। त्यो शान्ति पुर्ण तरिकाले हुनेछ तर अन्तिममा सबै बाटाहरु बन्द भएपछि आक्रमण गरेर भएपनि चीनले ताइवानलाई नियन्त्रणमा ल्याउनेछ। न्यान्सी पेलोसीको ताइवान भ्रमणले झनै आगोमा घिउ थप्ने काम गर्यो।
ताइवान वरिपरि चीनले अहिलेसम्म कै ठुलो सैन्य अभ्यास गर्यो । तर मेरो व्यक्तिगत विचारमा यस्तो खतरनाक सैन्य अभ्यास आक्रमणका लागि थिएन । न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकामाथि कडा कुटनीतिक दबाब सृजना गर्यो । चीनको पक्षमा विश्वका १६० भन्दा धेरै देशहरू उभिए । हो चीनले यहिँ कुरालाई परिक्षण गर्न चाहन्थ्यो। चीन यस परिक्षणमा सफल भयो । विश्वका १६० भन्दा बढी देश चीनको पक्षमा उभिए। यो नै चीनको अमेरिकामाथि ठुलो जित थियो। यसले अमेरिकालाई भित्रभित्रै नराम्रोसँग चोट पुर्याएको छ।
लाटाले पनि बुझ्ने कुरा चीनले किन नबुझोस् । अमेरिकाले चीनलाई आक्रमण गर्न उत्तेजित बनाएर हतियार व्यापारको ठूलो सपना देखेको थियो। तर चीनले ताइवानलाई आक्रमण नगरि अमेरिकाको अर्को योजना फेल गर्देको छ । आर्थिकरुपमा निकै अगाडि बढिरहेको चीनलाई प्रतिबन्ध लगाएर भएपनि केही हदसम्म चीनको विकासलाई रोक्ने अमेरिकाको योजना थियो। यो पनि फेल भयो ।
ताइवान कार्डलाई प्रयोग गरेर अमेरिकाले चीनलाई कमजोर देखाउने प्रयास गरेको थियो तर जब विश्वका १६० बढी देशले चीनको पक्षमा उभिए तब अमेरिका आफै कमजोर देखियो । अमेरिकाको नजिकका सहयोगी राष्ट्रहरुले पनि खुल्लमखुल्ला ताइवानको पक्षमा बोल्न सकेनन्।
अब के होला?
अहिले अमेरिका र चीनबीच दक्षिण चीन सागरमा लडाइँ छ भन्दा पनि हुन्छ। सागरमा प्रभुत्व जमाउन अमेरिकाले विशेषगरी फिलिपिन्स, ताइवान, मलेसिया र इण्डोनेशियालाई चीनका विरुद्धमा प्रयोग गर्न लागिपरेको छ । दक्षिण चिन सागरमा अमेरिकाको आफ्नो सैन्य उपस्थिति समेत छ ।
अमेरिकाले न्यान्सी पेलोसीलाई ताइवान भ्रमण गर्न लागाएर चीनको प्रतिक्रिया निकै कमजोर भए उसले सिधै ताइवानमा आफ्नो सेना उतार्ने रणनीति तयार पारेको थियो। तर चीनको प्रतिक्रिया कडा भयो । विश्वका १६० भन्दा धेरै देशहरूले चीनको साथ दिए र न्यान्सी पेलोसीको भ्रमणलाई समर्थन गरेनन्। यसले अमेरिकालाई कमजोर पार्यो ।
अगस्त १० मा चीनले ताइवान स्थितिमा हुने परिवर्तनको अनुगमन जारी राख्ने र युद्धको नियमित तयारी अभ्यास पनि जारी राख्ने उल्लेख गरेको छ । यसको अर्थ अब ताइवानमा अमेरिकाको मनोमानी चल्दैन । अमेरिकाले फेरि यस्तो गल्ती दोहोर्याउने हो भने चीनले सिधै ताइवान माथि आक्रमण गरेर मुख्य भूमिमा गाब्छ ।
यस्तो अवस्थामा दक्षिण चीन सागरमा रहेको अमेरिकाको नौसेना पनि निसानामा पर्छ । कि त ताइवानको पक्षबाट लड्नु पर्यो कि त भाग्नु पर्यो। अमेरिका कसैको लागि लड्छ भन्ने कुरा त धेरै परको कुरा हो । उसले गर्न सक्ने भनेको हतियार आपुर्ति गर्ने हो ।
