काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित जनलहर सिर्जना गर्ने १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि स्थानीय तहको सम्मुखमा कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको कांग्रेसले त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए ।
यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी भए पनि प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।
बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ । शनिबारको बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी दिएको हो ।
उनका अनुसार बैठकले साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।
