• ट्रेण्डिङ्ग :
राजमार्गमा बाघको ‘राज’

राजमार्गमा बाघको ‘राज’


  • 6.5K
    SHARES
    • आश्विन २३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    राजमार्गमा बाघको ‘राज’

    २८ भदौमा बाँकेको राप्ती सोनारी १ गाभरमा पाटे बाघको आक्रमणबाट एक ब्यक्तिको मृत्यु भयो । बेलुका पख महेन्द्र राजमार्ग छेउमा निस्केका ति भारतीय नागरिकलाई बाँके राष्ट्रिय निकुन्जबाट निस्केको बाघले आक्रमण गरेको थियो । अर्को दिन ति ब्यक्तिको बाघले खाएको अवस्थामा आधा शरिर मात्रै फेला पर्यो । 
    केहि दिन अघि त्यहि स्थानमा तीन जना गाउँले बाघको आक्रमणबाट धन्न जोगिए । भैँसी चराउन पुगेका उनिहरु न्जिकै बाघ देखियो । उनिहरु आक्रमणको डरले रुखमा चढे । बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन त्यहाँ निकुन्जले प्रयोग गरेका हात्तिले ति तीनजनाको सकुशल उद्धार गरे । 

    images

    ‘भैँसी चराउन पुगेका गाउँलेहरुले बाघ देखेपछि उनिहरु रुखमा चढे, बाघ पनि नजिकै आयो, शायद त्यो बेला बाघले आक्रमण गर्न सक्थ्यो’ बाँके राष्ट्रिय निकुन्जका प्रमुख श्याम शाहले भने ‘त्यहाँ बाघको असुरक्षा रहेकाले निकुन्जले त्यहिँ राखेका हात्तिको प्रयोग गरेर उहाँहरुको उद्धार भयो ।’ हात्ति प्रयोग गरिएपछि बाघ ति ब्यक्तिहरु भएको स्थान छोडेर भैँसी तर्फ कुदेको थियो । 

    पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ । यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ । यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ । ‘राजमार्ग क्षेत्र बाघबाट असुरक्षित बन्दै गईरहेको छ, यो साँचो हो,’शाहले भने ‘यसर्थ हामीहरु राजमार्गमा धेरै भन्दा धेरै सचेत बन्नु पर्ने बेला भएको छ ।’ 

    २८ भदौमा मान्छे खाएको गाभर क्षेत्रको राजमार्ग अँझ धेरै असुरक्षित छ । बाँके राष्ट्रिय निकुन्जका अनुसार त्यो क्षेत्र बाघको बसोबासका लागि उत्तम क्षेत्र हो । ‘त्यहाँ बाक्लो जंगल, अनि खहरे खोलामा पानीको सहज उपलब्धता रहेकाले पनि बाघले त्यो क्षेत्रलाई आफ्नो बसोबासका लागि सुरक्षित मानेको छ,’ शाहले भने ‘त्यो क्षेत्रमा बाघको जोखिम बढि रहेकाले त्यहाँ थप सचेतना अपनाउनु जरुरी छ ।’

    राजमार्ग को उत्तर तर्फ निकुञ्ज र दक्षिण तर्फ पनि घनाजंगल रहेकाले बाघका राजमार्ग पार गर्दै वारी पारी तर्फको जंगलमा आउजाउ गरिरहन्छ । यो बेलामा राजमार्गमा हुन सक्ने मान्छेसंगको जम्काभेट खतरा बन्न सक्ने शाह बताउँछन् । ‘राजमार्गको उत्तर र दक्षिण तर्फ बाघ बस्ने घनाजंगल छ,’ उनले भने ‘बाघ यो दुई तर्फको जंगलमा आउजाउ गरिरहन्छ, र यो बेलामा मान्छेसंग हुन सक्ने जम्काभेट खतरा बन्न सक्ने हुन्छ,यसर्थ यो बेलामा राजमार्गमा धेरै सचेत बन्नु पर्छ ।’ 
    यति मात्रै हैन, राजमार्गमा जंगली जनावरबाट सुरक्षित रहनका लागि अपनाईनु पर्ने सुरक्षाको भौतिक पाटो पनि शून्य रहेकाले महेन्द्रराजमार्ग बाघका कारण थप असुरक्षित छ । शाहका अनुसार निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा बत्तिको ब्यवस्थापन हुनु पर्छ अनि सडकको दुबै छेउँ तर्फ बारको ब्यवस्थापन हुनु पर्छ । 

    तर महेन्द्र राजमार्गमा भने यसको ब्यवस्था गरिएको छैन । सडकमा बत्ति भएको अवस्थामा सडकमा यात्रारत ब्यक्तिले जंगली जनावर टाढै बाट देख्ने र आँफू सचेत बन्ने भएकाले बत्तिको ब्यवस्थापन महत्वपूर्ण रहने उनले बताए । यसैगरि सडकको दुबै तर्फको छेउँमा बारको व्यवस्थापन भएमा जंगली जनावरले मान्छेलाई आक्रमण गर्न नसक्ने भएकाले सुरक्षित हुने उनको भनाई छ ।  

    ‘बिदेशका बिकसीत मुलुकमा रहेका निकुन्ज क्षेत्रमा सडकमा बत्ति र दुबै छेउमा बारको ब्यवसथा गरिएको हुन्छ,’ उनले भने ‘तर यहाँ त्यो ब्यवस्था छैन, यसो नहुँदा जंगली जनावरले मान्छेलाई सहजै आक्रमण गर्ने खतरा त भैहाल्छ नि ।’
     
    बाँके राष्ट्रिय निकुन्जको क्षेत्र मात्रै नभई सीमा जुधेको दाङ क्षेत्रको राजमार्गमा पनि बाघ देखिन थालेको छ । दाङ क्षेत्रको राजमार्ग पनि बाघबाट असुरक्षित रहेकाले बन डिभिजन कार्यालय लमहीले सचेतता अपनाउनु अपिल गरिसकेको छ । त्यासो त, बाँके राष्ट्रिय निकुन्जसंगै पूर्वी तर्फको दाङको राजमार्ग क्षेत्र पनि बाघको बासस्थानका लागि सुहाउँदो क्षेत्र हो । 

    ‘बाँके क्षेत्र मात्रै हैन, दाङको अमिलिया देखि लमही अर्जुन खोला सम्मको क्षेत्रमा बाघको उपस्थिती हुनु सामान्य कुरा हो,’ शाहले भने ‘त्यो क्षेत्र पनि बाघको बासस्थानका लागि उचित ठाउँ हो ।’ तर दाङ क्षेत्रमा देखिने बाघ बाँके राष्ट्रिय निकुञ्जबाटै गएको भन्न भने नमिल्ने उनको भनाई छ । 

    बाँके राष्ट्रिय निकुञ्जका शाह भन्छन् ‘कुनै पनि जंगली जनावरको स्थायी वतन हुँदैन, यो बाघ यो देशको या यो जिल्लाको या यो क्षेत्रको भन्ने हुँदैन, यो अन्तर्राष्ट्रिय मान्यता नै हो, यसर्थ दाङ क्षेत्रमा देखिने बाघ बाँके निकुञ्जको बाघ भनेर भन्न मिल्दैन ।’ उनका अनुसार तराईको भुपरिधि क्षेत्र बाघ संरक्षणका लागि उचित स्थान हो । 
    बागमती देखि भारतको यमुना नदी सम्मको क्षेत्र पाटे बाघ, हात्ति र गैँडाको उचित बासस्थान मानिएको क्षेत्र हो । यसर्थ पनि दाङको देउखुरी क्षेत्रमा बाघ देखिनु अस्वाभाविक नभएको शाहको भनाई छ । 

    दिनहुँ राजमार्गमा बाघ देखिन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा सचेतता अपनाउन आग्रह गरिरहेको छ । ‘एक्लै जंगल क्षेत्रमा नरोकिने, रातको समयमा घरबाट बाहिर निस्कनु भएन,’ उनले भने ‘हामीहरुले यो सचेतना दिईरहेका छौँ, यति सचेतना अपनाए मात्रै हामी बाघबाट धेरै सुरक्षित रहन सक्छौँ ।’ २०१८ को गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटे बाघ छन् । तर अहिले यो संख्या बढेको अनुमान निकुञ्जले गरेको छ । 


    तेस्रो आँखा