काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको कार्यशैलीप्रति आक्रोश पोखेकी छन् । प्राधिकरणको बुधबार भएको वार्षिकोत्सवमा उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरणका कर्मचारीले एउटा थ्री फेज मिटर प्रदान गर्न पनि महिनौं लगाउने गरेको टिप्पणी गरिन् । मन्त्री भुसालले काम नगर्ने र दिमागमा कामभन्दा पनि पैसा खेलाउने प्रवृत्ति अन्त्य गर्न प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई निर्देशन पनि दिएकी छन् ।
ऐन र नियम परिवर्तन गरिएकाले अब कर्मचारीको सोच तथा शैलीमा परिवर्तन हुन आवश्यक भएकामा उनले जोड दिइन् । ‘चाहेजति विद्युत खपत गर्नुहोस्, लोड स्वीकृत गर्नुस्’ भन्दै हिँड्ने, तर एउटा थ्रीफेज मिटर माग्दा महिनौं कुर्नुपर्ने अवस्था अझै विद्यमान रहेको उनले जनाइन् ।
अबका दिनमा कर्मचारीको व्यवहार र सेवा प्रवाहको शैली परिवर्तन गर्न जरुरी भएको र त्यस्तालाई कारवाही गर्न पनि उनले निर्देशन दिएकी छन् । उनले एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई आफूलाई भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण गराइन् ।
मन्त्री भुसालले कर्मचारीलाई बोनस नमाग्न पनि आग्रह गरेकी छन् । उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पु¥याउने कार्यमा लाग्न निर्देशन दिइन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रतिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग राख्नु उचित नभएको जिकिर गरिन् । कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्रमा सुधार हुनै लाग्दा बोनसको कुरा उठ्नु सही नभएको मन्त्री भुसालको दाबी छ ।
