काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले भोलि जस्ताको तस्तै पारित गर्ने भएको छ । बिहीबारको बैठकमा सो विधेयक पुनर्विचारका लागि पेस हुने भएको हो । सत्तारूढ गठबन्धले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन विधेयक पुनर्विचारका लागि भोलिको बैठकमा पेस गर्नेछन् । पुनर्विचारका लागि पेस भएपछि विधेयकमाथि प्रतिनिधि सभा बैठकमै छलफल हुनेछ । छलफलमा सांसदहरूले आफ्नो धारणा राख्न पाउनेछन् र लगत्तै सांसदहरूले राखेको धारणामा गृहमन्त्रीले जवाफ दिनेछन्।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक भोलि नै पारित गर्नेगरी प्रतिनिधि सभाले कार्यसूची तयार पारेको छ।
गृहमन्त्री बालकृष्ण खाणले भोलिकै बैठकमा विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
