ओखलढुंगा । ओखलढंगा ठाडेको एक घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । बुधबार राति १० बजे विद्युत सर्ट भई आगलागी हुँदा सिद्धिचरण नगरपालिका ६ ठाडेका डम्बर बहादुर मगरको ४ तले घरमा पूर्ण रुपले जलेर नष्ट भएको हो ।
आगलागीले कारण ढुंगा माटोले बनेको घर सहित घरभित्र रहेको धनमाल, लत्ताकपडा, गरगहना, भाडावर्तन लगायत सबै जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । राति १० बजेबाट सुरु भएको आगो बिहान २ बजे मात्र पूर्ण रुपले निभाइएको थियो ।
आगलागीको सूचना पाउनासाथ अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएका प्रहरी, स्थानीय, सिद्धिचरण नगरपालिका र सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुको दमकलको प्रयासमा अन्य घरमा आगो फैलिएर हुनसक्ने ठुलो क्षति हुनबाट रोकिएको प्रहरी निरीक्षक दासले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले विद्युत सर्ट भई आगलागी भएको निष्कर्ष निकालेको छ । जिल्लामा विद्युत सर्ट भएर बर्षेनी आगलागीका घटना हँदा लाखौको क्षति हुने गरेको छ ।
