• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा निर्वाचनको टिकट रेस : गठबन्धनबाट रामहरी ढुक्क, यज्ञराजलाई ओलीले के गर्लान् ?

प्रतिनिधिसभा निर्वाचनको टिकट रेस : गठबन्धनबाट रामहरी ढुक्क, यज्ञराजलाई ओलीले के गर्लान् ?


  • 18.9K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 29.0K Views

    प्रतिनिधिसभा निर्वाचनको टिकट रेस : गठबन्धनबाट रामहरी ढुक्क, यज्ञराजलाई ओलीले के गर्लान् ?

    काठमाडौं । संघीय तथा प्रदेश सभा निर्वाचनको मिती घोषणा भएसँगै विभिन्न दलका तथा स्वतन्त्र व्यक्तिहरुद्वारा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । विभिन्न दलका नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्ने तथा पार्टीमा दाबेवारी प्रस्तुत गर्ने क्रम पनि बढ्दै गएको छ ।

    images

    ओखलढुंगामा पनि निर्वाचको मिती घोषणा भएसँगै एमाले, कांग्रेस, माओवादी लगायतका दलहरुबाट उम्मेदवारको दाबी गर्ने र घोषणा गर्ने क्रम बढ्दै गएको छ ।

    यसैबीच आगामी मंसिर चार गते हुने संघीय र प्रदेश सभा निर्वाचनलाई लिएर ओखलढुंगामा उम्मेदवारको चर्चा सुरु भएको छ । ओखलढुंगामा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र रहेकाे छ भने प्रदेश सभाको दुई निर्वाचन क्षेत्र रहेको छ । हाल प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञराज सुनुवार रहेका छन् । त्यस्तै प्रदेश सभा ‘क’ मा नेकपा माओवादी केन्द्रका मोहन खड्का (हिमशिखर) रहेका छन् भने प्रदेश ‘ख’ मा नेकपा एमालेका अमिरबाबु गुरुङ रहेका छन् ।

    आगामी निर्वाचनलाई लिएर विशेषगरी ओखलढुंगामा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारको चर्चा सुरु भइसकेको छ । एक प्रतिनिधिसभा दसस्य र दुई प्रदेश सभा सदस्यको लागि निर्वाचन हुने ओखलढुंगामा कांग्रेसको तर्फबाट आधा दर्जन भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन् । त्यस्तै एमालेबाट पनि लगभग आधा दर्जनको हाराहारीमा आकांक्षीहरु रहेका छन् ।

    ओखलढुंगामा पुनः रामहरी र यज्ञराजको प्रतिस्पर्धा होला ?

    पाँच दलीय गठबन्धन भएरै निर्वाचनमा जाँदा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरी खतिवडाले टिकट पाउने सम्भावना बढी रहेको चर्चा छ । २०७० सालको संविधान सभा सदस्यमा ओखलढुंगाको क्षेत्र नम्बर दुई बाट निर्वाचित भएका रामहरी खतिवडा देउवा निकट मानिन्छन् । खतिवडा २०७४ सालको निर्वाचनमा नेकपाका उम्मेदवार यज्ञराज सुनुवारसँग पाराजित भएका थिए ।

    ओखलढुंगामा राम्रो पकड रहेकोले यो पटक गठबन्धन भएमा वा कांग्रेस एक्लै निर्वाचमा गएमा पनि खतिवडाले टिकट पाउने चर्चा बढी रहेको छ । तर खतिवडासँगै बालकृष्ण दाहाल, प्रदीपकुमार सुनुवार, खिलानाथ दाहाल आदिको नाम प्रतिनिधि सभा सदस्यमा गठबन्धनको तर्फबाट चर्चामा छ । ओखलढुंगा कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवार आफूपनि प्रतिनिधिसभा सदस्यको टिकटको दाबेदार रहेको तर पार्टीले टिकट दिएको व्यक्तिलाई सहयोग गर्न तयार रहेको बताउँछन् ।

    त्यस्तै एमालेको तर्फबाट भने हालका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार भने विस्थापित हुने र अर्कैले टिकट पाउने चर्चा बढी मात्रामा चल्दै आएको छ । २०७० सालको संविधान सभा सदस्य समेत रहेका सुनुवार त्यतिबेला ओखलढुंगा क्षेत्र नम्बर दुईबाट संविधान सभामा निर्वाचित भएका थिए । त्यसपछि २०७४ सालको निर्वाचनमा नेकपाका तर्फबाट प्रतिनिनिधि सभा सदस्यको उम्मेदवार बनेका सुनुवारले कांग्रेसका खतिवडालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

    नेकपामा विवाद हुँदा यज्ञराज सुनुवार माधव नेपाल र प्रचण्डको पक्षमा उभिएका थिए । माओवादी र एमाले अलग भएपनि एमालेको माधव नेपाल पक्षमा उभिएका सुनुवार पार्टी विभाजन भएपछि भने एमाले मै बसेका थिए  । पहिला माधव नेपाल पक्षमा उभिएको हुनाले र जिल्लामा प्रभाव कम हुँदै गएकोले सुनुवारलाई एमालेले टिकट नदिने चर्चा चल्दै आएको छ ।

    तर, नेकपा एमाले नेता शंकर कार्की उम्मेदवारको आकांक्षी धेरै भएकोले कसले टिकट पाउँछ भन्ने कुरा पार्टीको हातमा रहेको बताउँछन् । आकांक्षीहरु धेरै रहे पनि पार्टीले टिकट दिएको व्यक्तिलाई जिताउँन आफूहरु लाग्ने उनले बताए ।

    प्रदेशसभामा माओवादीको पनि दाबी

    गएको ७४ को निर्वाचनमा ओखलढुंगाको प्रदेश सभाको दुवै निर्वाचन क्षेत्रमा नेकपाले जितेको थियो । प्रदेश ‘क’ बाट अमिरबाबु गुरुङ निर्वाचित भएका थिए जो हाल नेकपा एमालेमा रहेका छन् । त्यस्तै प्रदेश ‘ख’ मा मोहन खड्का निर्वाचित भएको थिए जो हाल नेकपा माओवादी केन्द्रमा रहेका छन् ।

    यदि गठबन्धन भएमा आफूले जितेको ठाउँमा माओवादी केन्द्रले नछोड्ने देखिन्छ । हालका प्रदेश सभा सदस्य मोहन खड्का माओवादीका सदस्य भएको हुनाले माओवादीले प्रदेश सभा सदस्यको एक सिट नछोड्ने बताउँदै आएको छ । तर गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको हुनाले माओवादीलाई नदिई सबै सिटमा आफैँ लड्ने दाउ उसको छ ।

    आठ ओटा स्थानीय तह रहेको ओखलढुंगामा गएको वैशाख तीसको स्थानीय तह निर्वाचनमा कांग्रेसले चार वटा र एमाले, माओवादी, जसपाले एक एक वटा र स्वतन्त्रले उम्मेदवारले एक वटा पालिका प्रमुख/उपाध्यक्ष जितेको थियो । त्यस्तै पालिका उपप्रमुख/उपाध्यक्ष भने एमाले र कांग्रेसले चार–चार जितेका थिए ।

    तर, गत स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको कारणले र पहिला पनि माओवादी केन्द्रले जितेको ठाउँ भएको कारणले माओवादी केन्द्रले कम्तिमा एक प्रदेश सभाको सिट गठबन्धनबाट खोजेको हो ।

    प्रदेश सभामा गठबन्धनतर्फबाट र एमालेबाट पनि धेरै आकांक्षीहरु रहेका छन् । तर प्रतिनिधिसभा सदस्यमा भने सत्तारुढ गठबन्धनबाट रामहरी खतिवडा र एमालेबाट अमिरबाबु गुरुङ वा प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले टिकट पाउने चर्चा बढ्दो छ । एमालेबाट भने सुनुवारलाई टिकट नदिएर गुरुङले पाउने चर्चा बढी नै चलेको छ ।

    सुनुवारलाई भने प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा सदस्यको टिकटबाट विस्थापनको डर रहेको नेताहरु बताउँछन् । स्थानीय तहको मतपरिणामलाई आधारमान्दा यदि पाँच दलीय गठबन्धन मिलेर ओखलढुंगामा निर्वाचन लडेको खण्डमा एमालेलाई कठिन हुने देखिन्छ ।


    पदम भुजेल
    लेखकबाट थप