काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको शनिबार राति ९:३६ मा निधन भएको हो ।
उनको तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । ७५ वर्षीय गिरिको परिवारको आग्रहमा शुक्रबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।
उनलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरि लगत्तै निमोनियाँ संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
