काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको नेपालको प्रजातानिन्क आन्दोलनमा अतुलनीय योगदान रहेको छ । गिरिको निधन भएपछि श्रद्धान्जली दिन गएका उच्च नेतादेखि सर्वसाधारणको घुइँचोले पनि गिरि जनताको मनमा पस्न सफल नेताका रूपमा स्थापित भएको प्रष्टै हुन्छ । वास्तवमा कांग्रेसका नेता तथा कार्यकर्ताका मात्रै होइन, बौद्धिक नेताका रूपमा परिचित गिरि प्रायः सवै नेपालीका लागि परिचित नाम हो ।
पिता मित्रलाल कांग्रेसका नेता भएकाले सानै उमेरदेखि प्रदिप पनि राजनीतिमा संलग्न भएएका थिए । २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेको उनी बताउने गर्थे । राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी कुल चारवर्ष उनले जेल जीवन बिताएका थिए । उनी २०२४ सालमा नेपाल छात्र संघ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।
हाल भने उनी कांग्रेसका केन्द्रीय सदस्य थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरी अध्ययनमा विशेष रुचि राख्ने गर्थे । यस्तै बेलाबेला राष्ट्रिय सञ्चारमाध्यममा समसामयिक सन्दर्भमा उनका लेखहरू छापिने गर्ने । उनका आलेख पठनीय हुन्थे ।
गिरीले संविधानसभाको निर्वाचनमा दुई प्रमुख मुद्दाहरु उठाउने अठोट गरेका थिए र उठाए पनि । उनले संविधानसभाको सदस्यमा निर्वाचित भएपछि राज्यको पुनःसंरचना र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नेलगायतको विषय जोडतोडले उठाएका थिए ।
क्यान्सर रोगबाट पीडित नेता गिरीको ७४ वर्षको उमेरमा शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर गिरि नेपाल फर्किएका थिए । नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते अस्पतालमा थप उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
गिरीको जन्म विसं २००४ सालमा सिरहाको बस्तीपुरमा भएको हो । सिरहामा जन्मिएका नेता गिरि मधेशी तथा मैथीली भाषामा पनि उत्तिकै दक्ष थिए । स्थानीय भाषामा पोख्त भएकैले सर्वसाधारणका लागि उत्तिकै प्रिय थिए । गिरिको निधनको शोकमा नेपाली कांग्रेसले देशभरका पार्टी कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ ।
कांग्रेस नेता गिरि कम्युनिष्ट नेताका लागि पनि प्रेरणाका स्रोत थिए । कांग्रेस भएपनि उनले माक्र्सवाद र लेलिनवादको गहिरो अध्ययन गरेका थिए । समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नै थिए । २०२१ सालको राजनीतिक परिवर्तनपछि गिरि राजनीतिमा सक्रिय हुँदै आएका थिए । हाल उनी प्रतिनिधिसभा सदस्य थिए । उनले भारतको बनारसमा बसेर तत्कालीन शाही शासनविरुद्ध आन्दोलन गरेका थिए ।
गिरिको २०४६ सालमा प्रजातन्त्र स्थापनामा उच्च योगदान रहेको थियो । यस्तै २०६२÷६३ को आन्दोलनको बलमा देशमा गणतन्त्र स्थापना गर्न पनि उनको अथक प्रयास रहेको थियो । २०४६ सालमा प्रजातन्त्र प्राप्ति उनको संविधान निर्माण गर्न महत्त्पूर्ण भूमिका रह्यो । विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भए । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएपपछि गणतान्त्रिक नेपालको संविधान निर्माणको जिम्मेवारीमा संलग्न भिए ।
उनी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । वास्तवमा नेता गिरिको राजनीतिक जीवनको इतिहास सफलताको कथै बनेको छ । जनताका प्रिय नेता गिरि प्रायः सवै कालखण्डका निर्वाचनमा विजयी भएको उदाहरण छ । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि सिरहा १ बाट निर्वाचित भए । वास्तवमा राजनीतिक थकाइको महसुस नगर्ने नेता गिरि सवै पार्टीका नेता तथा कार्यकर्ताका लागि प्रेरणाका स्रोत हुन् । कांग्रेस नेता गिरिप्रति हार्दिक श्रद्धान्जली !
