काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने सहमति भएको छ ।
नेपाल र दाहालबीच भएको छलफलमा आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान दुवै दल सहमत भएका हुन् । साथै दुई पार्टीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको पनि बताइएको छ ।
प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।
