दिल्ली । भारतमा एकै दिनमा कोरोना सक्रमितको संख्या ८ हजार ५ सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म ८ हजार ५ सय ८६ जना कोरोना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा ४ करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा संक्रमण देखापरेको थियो ।
दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९६ हजार पाँच सय छ जना रहेका छन् । कोरोना सुरु भएबाट हालसम्म यहाँ ५ लाख २७ हजार ३ सय ७० भन्दा बढीको मृत्यु भएको छ ।
भारतमा हिजो सोमबा एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार छ सय २४ जना कोरोनामुक्त भएका छन् ।
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म २ अर्ब १० करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
