काठमाडौं । ओखलढुंगा जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह छन् । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा ओखलढुंगामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा देखिएको छ । आठ स्थानीय तहमध्ये स्थानीय तह निर्वाचनमा कांग्रेसले चार, एमाले, माओवादी र जसपाले एक/एक तथा स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुख/अध्यक्ष जितेका छन् । त्यस्तै पालिका उपप्रमुख/उपाध्यक्ष भने एमाले र कांग्रेसले चार/चार स्थानमा जितेका छन् ।
ओखलढुंगाका आठ स्थानीय तहमा ७५ वडा छन् । गएको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै ४६ वडामा कांग्रेसले विजयी प्राप्त गरेको छ । दोस्रो पार्टीको रुपमा स्थापित एमालेले १९ वडा र तेस्रो पार्टीको रुपमा स्थापित माओवादी केन्द्रले ८ वडामा जित हात पारेको छ । त्यस्तै जसपाले २ वडामा विजयी प्राप्त गरेको छ ।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका ९ वडामध्ये २, ३, ४, ५, ७, ८, र ९ गरी ८ वटामा कांग्रेस विजयी भएको थियो । त्यस्तै वडा नम्बर १ र ६ गरी दुई वडामा जसपा विजयी भएको थियो । जिल्लाको चम्पादेवी गाउँपालिकाका १० वटा वडामध्ये १, २, ४, ५, ८, ९ र १० गरी सात वडामा कांग्रेस विजयी भएको थियो । वडा नम्बर २ र ७ गरी दुई वडामा एमाले र वडा नम्बर ६ को एउटामा माओवादीका उम्मेदवार विजयी भएका थिए ।
चिसंखुगढी गाउँपालिकाका ८ वटा वडामध्ये १, २, ३, ४, ५, गरी पाँच वडामा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै वडा नम्बर ६ र ७ गरी दुई वडामा कांग्रेस विजयी भएको थियो भने वडा नम्बर ८ को एउटा वडामा मात्र एमालेले जित हासिल गरेको थियो ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाका ९ वडामा १, २, ४, ५, ६, ७ र ८ गरी सात वटामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । पालिकाको वडा नम्बर ३ र ९ मा गरी दुई वडामा भने एमालेका उम्मेदवार विजयी भएका थिए ।
मोलुङ गाउँपालिकाका ८ वटा वडामध्ये १, ३, ६, ७ र ८ गरी पाँच वडामा एमालले जित हासिल गरेको थियो । त्यस्तै वडा नम्बर २, ४ र ५ गरी तीन वडामा कांग्रेसका उम्मेदवारले बाजी मारेका थिए ।
जिल्लाको लिखु गाउँपालिकाका ९ वडामध्ये २, ४, ५, ७ र ८ गरी पाँच वडामा कांग्रेस विजयी भएको थियो भने १, ३ र ९ गरी ती वडामा एमालेले जित हासिल गर्यो । त्यस्तै पालिकाको ६ नम्बर वडामा भने माओवादीको एक उम्मेदवारले जित हासिल गरे ।
ओलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिकाका १२ वडामध्ये १, ३, ६, ७, ८, ९, १०, ११ र १२ गरी नौ कांग्रेसले जितेको थियो । त्यस्तै पालिकाको वडा नम्बर ४ र ५ गरी दुई वडा एमालेले र वडा नम्बर २ को एक वडामा माओवादीका उम्मेदवार विजयी भएका थिए ।
जिल्लाको सुनकोशी गाउँपालिकाका १० वटा वडामध्ये १, २, ४, ६, ८ गरी पाँच वडामा कांग्रेसले बाजी मारेको थियो । त्यस्तै पालिकाको २, ५, ७, ९ र १० गरी पाँच वटै वडामा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए ।
जिल्लाका आठ स्थानीय तहका ७५ वडामा कांग्रेस ४६, माओवादी ८ र जसपाले २ वडामा विजयी हासिल गरेको थियो । पाँच दलीय गठबन्धनबाट ५६ जनाले वडाध्यक्ष पदमा विजयी हासिल गरेका छन् । त्यस्तै एमाले एक्लैले १९ वडा जितेको छ । सत्ता गठबन्धन र एमालेको मतपरिणाम मूल्यांकन गर्दा गठबन्धनको सामू एमाले जिल्लामा झन् कमजोर भएको देखिन्छ ।
वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा को बलियो ?
जिल्लाका आठ स्थानीय तहका ७५ वडामध्ये नेपाली कांग्रेसले ७२ वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । उता एमालेले चाहिँ ७५ वडामध्ये ७३ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । त्यस्तै माओवादी केन्द्रले ७५ मध्ये ५०, जसपा १३ र नेकपा एकीकृत समाजवादीले १७ वडाध्यक्ष पदमा उम्मेदवारी दिएको थियो ।
यस्तै ७५ वडामध्ये कांग्रेसले उम्मेदवारी दिएका ७२ वडाध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मत ३२ हजार ७ सय १७ देखिएको छ । त्यस्तै एमालेबाट उम्मेदवारी दिएका ७३ वडाध्यक्षका उम्मेदवारको मत २९ हजार ९ सय ८६ भएको निर्वाचन आयोगसँग तथ्यांक छ । एमालेको मत कांग्रेसको भन्दा ३ हजार ४ सय ३१ कम हो । अर्कातर्फ माओवादीले पाएको मत छ हजार ९ सय १६ छ । जिल्लाभर जसपाका वडाध्यक्ष पदका उम्मेदवारले २ हजार १ सय ४ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी पार्टीका वडाध्यक्ष पदका उम्मेदवारले मत ५ सय २१ छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको कुल मतपरिणामअनुसार सबैभन्दा ठूलो दल कांग्रेस देखिएको छ । कांग्रेसको एमालेको भन्दा ३ हजार ४ सय ३१ मत बढी हो । त्यस्तै दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा जसपाको मतपरिणाम छ । मतपरिणामको आधारमा एकीकृत समाजवादी भने ओखलढुंगामा निकै कमजोर देखिएको छ । झिनो मत ल्याए पनि नेकपा एस जिल्लाको चौथो पार्टीको रुपमा दर्ज भएको छ ।
पाँच दलीय गठबन्धन हुँदा एमालेलाई झन् कठिन
केन्द्रमा नेकपा माओवादी केन्द्र, जसपा, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलबीच गठबन्धनको कसरत भइरहेको छ । कांग्रेसको एकल मतसँग तीन हजार मतले पछाडि रहेको एमाले पाँच दलीय गठबन्धन भए आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा झन् कमजोर सावित हुने देखिन्छ । गत स्थानीय तह निर्वाचनमा ओखलढुंगामा कांग्रेस, माओवादी, जसपा र नेकपा एसको मत जोड्दा ४२ हजार २ सय ५८ छ । एमालेको २९ हजार ९ सय ८६ रहेको छ ।
पाँच दलीय गठबन्धन र एमालेबीच आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा हुँदा एमालेलाई निकै कठिन हुने देखिन्छ । एमालेले राप्रपालगायत अन्य केही दलसँग गठबन्धन गरेपनि ती दलहरुको अवस्था संतोषजनक छैन । कांग्रेसको एकल मतसँग प्रतिस्पर्धा गर्न पनि निकै मतले पछाडि परेको एमाले गठबन्धको मत जोड्दा अझ १२ हजार २ सय ७२ मतले पछाडि पर्छ । जुन एमालेका लागि आगामी निर्वाचन जित्न अझ कठिनपूर्ण अवस्था हो । अन्य दलसँग तालमेल नगरे पनि स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार कांग्रेसको जित ओखलढुंगामा सहज देखिन्छ ।
तर, स्थानीय तहको मतपरिणामलाई निर्वाचनको समयमा बनाइने दलहरुको समीकरण, आन्तरिक व्यवस्थापन तथा उम्मेदवारहरुको छनोटले पनि फरक पार्ने राजनीतिक विश्लेषक बताउँछन् । एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा ओखलढुंगामा एमाले र कांग्रेसबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।
पदम भुजेल
