काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव एवं सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य देव गुरुङले कार्यदलको बैठक बसेर सिट बाँडफाँटलाई छिट्टै टुंग्याउने बताएका छन् ।
बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कार्यदलका ‘सिट बाँडफाँटबारे गृहकार्य चरिहरेको र फेरि कार्यदलको बैठक बसेर सिट बाँडफाँडलाई टुंग्याउने बताएका हुन् । उनले सिट बाँडफाँडको विषयमा दुई तीन राउण्ड छलफल भएको पनि बताए । फरक प्रसंगमा गुरुङले नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईको पार्टी लगायतसँग वाम मोर्चाको विषयमा छलफल भइरहेको बताए ।
‘पाँचदलीय गठबन्धन पनि एउटा सहमतिको मोडल हो । यसबाहेक अधिकतम लचकताका साथ कम्युनिष्ट दलहरूसँग पनि मिलेर जानुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने,‘त्यसका लागि पछिल्लो समयमा वाममोर्चाको निर्माण गर्न सकिन्छ कि भनेर सहकार्य गरेर बढ्ने प्रक्रिया चलिरहेको छ ।’ महासचिव गुरुङले विगतमा नेकपा एमालेसँग गरिएको प्रयास असफल भएको बताए । ‘अझै पनि एमालेले पनि पुनर्विचार गरे छलफल गर्छौं । यसबाहेक छरिएर रहेका माओवादी र अन्य वाम घटकसँग सहकार्य गर्न माओवादी केन्द्र तयार छ ।’ मुलुकको अस्मिता जोगाउन कम्युनिष्टको एकता नै महत्वपूर्ण रहेको महासचिव गुरुङको जोड छ ।
