काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र विभिन्न महत्त्वपूर्ण ठाउँमा बनेका अवैध संरचना हटाउने कामलाई मेयर बालेन्द्र शाहले तीव्रता दिइरहेका छन् । गत सोमबार मात्रै बानेश्वर क्षेत्रका केही अवैध संरचना भत्काएका शाहले एकपछि अर्को ठाउँका संरचना भत्काउँदै गएका हुन् ।
अवैध संरचना भत्काएसँगै उनको कदमलाई अधिकांशले स्वागत गरेका छन् । व्यापारी तथा कम्प्लेक्स धनी भने उनीसँग आक्रोशित भएको बुझिएको छ । मेयर बालेन्द्रले आज (शुक्रबार) भने त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरको पार्किङ क्षेत्र खाली गराएका छन् । विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिएका हुन् ।
महानगरले पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतीक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको छ । अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको जनाइएको छ । विभागले राहदानी बनाउन आउनेका लागि बस्न कुर्सी राखिएको थियो ।
दुई/तीन पटकसम्म पार्किङ एरिया खाली गराउन चिठी पठाए पनि विभागले अटेर गरेको महानगरपालिकाले जनाएको छ । राहदानी विभाग परिसरको मापदण्डबाहिरको ठाउँ अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीलाई पार्किङका लागि असुविधा हुँदै आएको थियो ।
विभागले अटेर गरेपछि बल प्रयोग गरेर सो स्थान खाली गराउने मनस्थितिमा महानगर पुगेको जनाइएको छ ।
राहदानी विभागको ठाउँ खालि गराउने काममा आज भने बालेन आफैं भने फिल्डमा उत्रिएनन् । पार्किङ खाली गराउन भन्दै नगर प्रहरी खटिएका थिए ।
