काठमाडौं । देशभरि हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जनाएको छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
यसैगरी राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागको बुलेटिनमा उल्लेख छ ।
यसैबीच आगामी चौबीस घण्टाका लागि विभागले चेतावनी तथा परामर्श दिएको छ । चौबीस घण्टाको अवधिमा देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणमा आग्रह गरेको छ ।
