लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले प्रदेशका सबै जिल्लाहरुमा डाक्टरहरुको समानुपातिक प्रतिनिधित्व गराईने बताएका छन् । आईतबार मन्त्रीको सपथ लिएपछि तेस्रो आँखा संग कुराकानी गर्दै मन्त्री चौधरीले प्रदेशका १२ वटै जिल्लामा डाक्टरहरुको समानुपातिक वितरण हुने बताए । ‘प्रमुख अस्पताल तथा सुगममा मात्रै डाक्टरहरु थुप्रिने समस्या अहिले छ,’ उनले भने ‘यो प्रबृत्तिलाई तोडेर प्रदेशका सबै जिल्लाहरुमा डाक्टरहरुको समानुपातिक सहभागीता गराउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’
यससंगै अस्पतालको सुधारमा आफ्नो ध्यान जाने उनको भनाई छ । ‘अस्पतालले प्रवाह गर्नुपर्ने सेवा सुविधा देखि अस्पतालको प्रशासनीक अवस्था प्रति मैले ध्यान दिने छु,’ उनले भने ‘प्रदेशबासीले सहज तरिकाले उचित स्वास्थ्य सेवा पाउनका लागि अस्पतालको हरेक क्षेत्रको सुधारका लागि मैले पहल गर्ने छु ।’
यसैगरि प्रदेशबासीहरुलाई कोरोना बिरुद्धको खोपको सहज वितरण हुने मन्त्री चौधरीले बताए । कोरोनाको सम्भावित तेस्रो लहरको जोखिम टार्न प्रदेशका अस्पतालहरुलाई सक्षम पार्दै कोरोना बिरुद्धको खोप हरेक नागरिकले पाउने व्यवस्था मिलाईने उनको भनाई छ । ‘प्रदेशका हरेक नागरिकहरुलाई कोरोना बिरुद्धको खोपको ब्यवस्थापन गर्नेछु,’ उनले भने ‘खोप वितरण निश्पक्षताका आधारमा सबैलाई वितरण हुने छ ।’
