• ट्रेण्डिङ्ग :
दोधारा-चाँदनीवासीको सकस : गाईवस्तुलाई घाँसपात र मेलापात गर्न पनि भारत

दोधारा-चाँदनीवासीको सकस : गाईवस्तुलाई घाँसपात र मेलापात गर्न पनि भारत


  • 5.2K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    दोधारा-चाँदनीवासीको सकस : गाईवस्तुलाई घाँसपात र मेलापात गर्न पनि भारत

        
    दोधारा-चाँदनी । नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा-चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् ।

    images

    दोधारा चाँदनी नगरपालिका ९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उनी मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्छन् । 'दोधारामा स्याउला पाइँदैन गाईभैँसी र बाख्राका लागि घाँस र स्याउला लिन भारतको कलौना भन्ने ठाउँमा जाने गर्छौँ,' उनले भने, 'उताका (भारतका) मानिस एकदम सहयोगी छन् । मैले धेरै वर्ष भयो त्यहाँ जाने गरेको ।' सीमानाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ । 

    उनका अनुसार दोधाराका थुप्रै मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । यहाँका  महिला करिब तीन किलोमिटरको बाटो हिँडेर भारतीय बस्ती कलौना पुग्ने गरेको स्थानीय रञ्जु रावतले जानकारी दिएका छन् । 'रोजगारी केही छैन बाख्रापालन गरेकी छु बाख्राको आहारका लागि मेलापात जान्छु', उनले भने, 'यहाँ बाख्राका लागि स्याउला पाइँदैन हामी त सधैँ उतैबाट ल्याउँछौं ।'

    दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आएका टेकबहादुर सुनार अहिलेसम्म यहाँ दुई देशबीचका नागरिकबीच वैमनस्यताका घटना नभएको बताउँछन् । उनका अनुसार यहाँका बासिन्दाको नेपालसँग सम्पर्क कम नै थियो । विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्पर्क जोडिएको हो ।

    'मेलापात, बिहे,व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने-जाने गर्छौँ', उनले भने, 'हामीले पनि बोलाउँछौं उहाँहरूले पनि बोलाउनुहुन्छ ।' उनले यहाँका बासिन्दा सीमाका प्रहरेदार भएको बताएका छन् । स्थानीय वसन्ती सुनारले दुई देशका नागरिकको भन्दा पनि भाइचारको सम्बन्ध रहेको बताएका छन्  ।

    'हाम्रो सम्बन्ध एकदमै राम्रो छ  कहिले उहाँहरू सहयोग माग्न यहाँ आउँछन्, कहिले हामी सहयोग माग्न त्यहाँ पुग्छौं, उनले भने, 'सीमावर्ती भारतीय नागरिकसँग सदियौँदेखि भाइचाराको सम्बन्ध छ ।' महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको श्रोत नै कृषि व्यवसाय रहेको छ । -रासस