• ट्रेण्डिङ्ग :
‘किसानको माग पूरा नगरे आन्दोलन’

‘किसानको माग पूरा नगरे आन्दोलन’


  • 4.1K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    ‘किसानको माग पूरा नगरे आन्दोलन’

    काठमाडौं । गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भए पनि राज्य यो क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ । अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नति र प्रगतिको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाए ।

    images

    राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गरे । कृषिमा आधारित रहने ठूलो हिस्सा अन्योल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको उनको भनाइ थियो । 
    उनले भने,‘सरकारले किसानलाई महँगी थुपारिदिएको छ, आज किसानहरुले मल किन्न पाएका छैनन्, सरकारले अनुदानको कुरा गर्छ, समयमै मल दिँदैन्, मल पाइहाले पनि पर्याप्त छैन । डीएपी चाहिने बेला युरिया पाइँदैन ।’

    उनले सरकारले अर्बौं रुपैयाँ बजेट कृषिमा छुट्याए पनि समयमै मल नपाइने भन्दै किसानका समस्या जहाँको त्यहीँ रहेको गुनासो पोखे । उनले कृषिका लागि विनियोजन गरिएको बजेट सत्तामा बस्नेहरुको ठेक्कामा पुग्ने गरेको आरोप लगाए । किसानहरुले सरकारको बेवास्ताका कारण भारतबाट मल ल्याउन बाध्य भएको गुनासो पोख्दै उनले विदेशबाट ल्याएको मल नै नक्कली पर्ने गरेको सुनाए ।
     
    किसानले खेती गर्ने औजार, मल, बीउ महँगो भएको उल्लेख गर्दै उनले संस्था नै स्थापना गरेर राज्यलाई दबाब दिन खोजेको स्पष्ट पारे । उनले सरकारसँग कृषिसम्बन्धी सबै वस्तुको मूल्य निर्धारण गरिदिन आग्रह गरे ।

    मलहरुको उद्योग नेपालमै खोल्नुपर्नेमा उनले जोड दिए । सरकारले सेयर उठाएर भए पनि उद्योग देशभित्रै चलाउनुपर्ने उनको भनाइ थियो । विदेशी सामान आयात गर्दा किसानको अवस्था जस्ताको तस्तै रहने भन्दै उनले नेपालमा नै उद्योग खोल्नुपर्नेमा जोड दिए । 

    उनले कृषिमा प्रयोग हुने साधन चलाउनेहरुलाई पनि इन्धनको रेट कायम गरिदिन र उत्पादनमा पनि दरभाउ कायम गरिदिन सम्बन्धित निकायसँग आग्रह गरे । 

    किसानको समस्यामा लड्दै आएका खनालले मल तथा बीउ सस्तोमा पाउने व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो संस्थाले देशभरका किसानहरुको अवस्था बुझेर राज्यलाई झकझक्याउने गरेको समेत सुनाए ।
      
    उनले किसानलाई यसैगरी दुःख दिइरहने हो भने देशभरका किसानहरु आएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । अब किसानहरु एकजुट हुनुपर्ने भन्दै आफ्नो समस्या उजागर गर्न आफुहरुसँग जोडिन उनले सम्पुर्ण किसानहरुलाई आग्रह गरे । 
    किसानहरुलाई विभिन्न दलका नेताहरुले ठगिरहेको उल्लेख गर्दै आगामी चुनावमा उनीहरुलाइै नै जिताउने हो भने किसानहरु अझै झन् जर्जर अवस्थामा पुग्ने र किसानका समस्या कहिल्यै पनि समाधान नहुनेतर्फ सचेत गराए ।

  • सम्बन्धित विषय:

  • # ‘किसानको माग पूरा नगरे आन्दोलन’

  • तेस्रो आँखा