तेस्रो आँखा डेस्क
काठमाडौँ, मंसिर २६ । नेपाली कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित दाङकी पार्वता डिसी चौधरी केन्द्रीय सदस्यमा ‘ह्याट्रिक जीत’ हात पार्ने दौडमा छिन् । १२ औँ र १३ औँ महाधिवेशनबाट मधेशी महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित चौधरीले १४ औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिएकी छिन् ।
स्कुले जीवन देखि नेविसंघको राजनीतिक यात्रा सुरु गरेकी पार्वता २०३७ सालमा जनमत संग्रहको बहुदलको प्रचारप्रसारमा सक्रिय भएकी थिईन् । २०४२ को सत्याग्रहमा गोमा जिसीको नेतृत्वमा गणेशमान सिंहको घरमा सहभागी भएकि थिईन् । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा सोनपुर गाविसको उपाध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी पार्वता विजयी भएकी थिईन् ।
२०५१ सालमा २२ बर्षको उमेरमै कांग्रेसको सक्रिय सदस्यता पाएकि पार्वता कांग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनिएकी थिईन् । त्यसोत, २०७० मा संसदीय निर्वाचनमा समेत पार्वताले जीत हात पारिन्। यो बेला भएको पछिल्लो संविधानसभा निर्वाचनमा उनी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएकि थिईन् । उनी अहिले पनि प्रतिनिधिसभा सदस्य हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सांसदमा निर्वाचित भएकी थिईन् ।
