ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बंगलादेशका निम्ति ठूलो बोझ बनेका जनाएकी छन्। उनले त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको जनाएकी छन् ।
रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बंगलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको बताउँदै उनले उक्त समस्या समाधानमा भारतको प्रमुख भूमिका हुनसक्ने उल्लेख गरेकी छन् ।
सोमबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणका सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्रदै उनले आफ्नो देशमा ११ लाख रोहिङ्ग्याको उपस्थितिले राज्य सञ्चालनमा चुनौती थपिएको जनाइन्। उनले रोहिङ्ग्या समस्या समाधानका निम्ति भारतसहित अन्य छिमेकी राष्ट्रहरूसँग पनि परामर्श भइरहेको जनाएकी छन्। 'अन्तर्राष्ट्रिय समुदायले यस्तो कदम चालुन् जसले रोहिङ्ग्यालाई घरफर्कन् सहयोग पुगोस्,' उनले भनेकी छन् ।
आफ्नो सरकारले मानवीय पक्षलाई दृष्टिगत गरी विस्थापित समुदायलाई आश्रय दिएको तथा उनीहरूको हेरचाह गरिरहको बताउँदै बंगलादेशका प्रधानमन्त्रीले कोरोना महामारीको कठिन समय पनि मानवीय आधारमा सहयोग गरेको तथा सबै रोहिङ्ग्यालाई खोप उपलब्ध गराएको सुनाइन् । उनले प्रतिप्रश्न गरिन्, 'तर उनीहरू कहिलेसम्म यहाँ बस्ने ?' चाँडोभन्दा चाँडो उनीहरूलाई स्वदेश फर्काउँदा बंगलादेशका साथै म्यान्मालाई पनि राम्रो हुने उनले उल्लेख गरेकी छन् ।
रोहिङ्ग्याको उपस्थितिले बंगलादेशको सामाजिक संरचनामा समस्या उत्पन्न भएको, कोही लागुऔषध ओसारपसारमा लागेका, कोही हतियारसहित द्वन्द्व निम्त्याउनेतर्फ लागेका र कोही महिला बेचबिखनमा संलग्न भएका बताउँदै प्रधानमन्त्री हसिनाले उनीहरूको शीघ्र घर फिर्तीका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संघठन (आसियान) तथा संयुक्त राष्ट्रससंघलगायत अन्तर्राष्ट्रिय समुदायसँग छलफलमा रहेको जानकारी दिएकी छन् ।
आफ्नो देशले धेरै समस्याको सामना गरिरहेका बेला रोहिङ्ग्यालाई शरण दिएको बताउँदै उनले अब उनीहरू आफ्नो देश फर्कनुपर्नेमा जोड दिइन् । उक्त समस्या समाधानमा छिमेकी देशका नाताले भारतले ठूलो भूमिका निर्वाह गर्नसक्ने उनले बताइन् । टिस्टा नदीको पानी बाँडफाँटलगायत आपसी विवाद समाधान हुन नसक्ने आफूलाई नलागेको उनले बताइन् । भारतसँगका सम्बन्धका सबै विषयमा नयाँदिल्लीमा छलफल हुने पनि उनले स्पस्ट पारेकी छन् ।
