काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको बताएका छन् । सिंहदरबारमा मंगलबार नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
मुलुकलाई अहिले राजनीतिक स्थिरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाइ छ । 'हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो,' उनले भने, 'गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ। '
आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसँगै मुलुकको आधारशिला बलियो बनेको बताए ।
उनले अब मंसिर ४ गते हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सबैको रहेको धारणा राखे । मन्त्री कार्कीले अहिलेको गठबन्धन कसैकोविरुद्ध लक्षित नभएर मुलुकको विकास र समृद्धिका लागि आवश्यकता भएको जिकिरसमेत गरे ।
