सिन्धुली । मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका १, कुडुलेमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
बुधबार बिहान ४ बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीय बासिन्दाको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए । ‘बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन,’ गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने । बाटोमा सयौं यात्रु अलपत्र परेको उनले बताए ।
