काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरी योजना अगाडि बढाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आइतबार गरेको धोविखोला कोरिडोर कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफल तथा अन्तर्क्रियामा चौधरीले भने, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठूलाबडा मात्र सहभागी भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ ।’
मन्त्री चौधरीले डुबानको समस्यासमेत समाधान हुनेगरी छिटै धोबिखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए । त्यसैगरि सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यान दिन सुझाए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोबिखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको जनाए । त्यसैगरी उनले आयोजनाको प्रस्तावित नाम धोबिखोला कोरिडोर कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र स्रोतको सुनिश्चितता अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारीसमेत गराए ।
कार्यक्रममा प्रदेश सांसद कुसुमकुमार कार्की, न्हुछेनारायण श्रेष्ठ, विषयविज्ञ प्रा.डा. नरेन्द्रमान शाक्य, डा. सन्जय उप्रेती, डा. भगवानरत्न कंसाकार, डा. जीवराज पोखरेल, पद्मसुन्दर जोशी, प्रकाशचन्द्र घिमिरे, डा. चिरञ्जीवी भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन-बूढानीलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवी लगायत विभिन्न सरोकारवाला पक्षहरुसँग डुवान समस्या समाधानका लागि छलफल गरिएको थियो ।
