काठमाडौं । प्रहरीको साइबर ब्युरोले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको विषय हल्ला मात्रै भएको जनाएको छ । सामाजिक सञ्जालमा चर्चा भएको जस्तो घटना अनुसन्धानका क्रममा नभेटिएको भन्दै अफवाह नफैलाउन पनि प्रहरीले आग्रह गरेको छ । सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा केही दिनदेखि बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेको छ ।
प्रहरी सार्वजनिक सूचना निकालेरै अफवाह नफैलाउन सचेत गराएको छ । सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी साइबर ब्युरोले निकालेको सूचनामा उल्लेख छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
अपराधसँग सम्बन्धित कुनै सूचना भए प्रहरी कार्यालयमा खबर गर्न पनि सूचनामा अनुरोध गरिएको छ । सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि अधिकांश मानिसमा त्रास बढेको छ ।

