काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले आज भक्तपुर भ्रमण गर्ने भएका छन् ।बिहान ९ बजे चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन गर्ने कार्यक्रम छ ।
उनी भक्तपुरस्थित दरबार क्षेत्रमा बिहान जाने भएकाले कोटेश्वर भक्तपुरको सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालय देखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यस्तै साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
हिजोपनि दिनभरजसो उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको थियो । भीभीआईपी सवारीको कारण विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै महानगरीय ट्राफिक महाशाखाले वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।
