काठमाडौं । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने भएको छ।
महानगरपालिकाले आज सूचना प्रकाशित गरी आगामी असोज १ देखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गरेन निषेध गरिएको जानकारी दिएको हो । यस्तै महानगरले सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदन आग्रह गरेको छ।
'असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ,' महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, 'सार्वजनिक स्थलमा धुमपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सबैमा अनुरोध छ ।'
कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउने जारी गरिएको सूचनाको उल्लंघन गरे सुर्तीजन्य पदार्थ-नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कारबाही गरिने महानगरले जनाएको छ।
सार्वजनिक स्थलमा धूमपान गरे उक्त व्यक्तिलाई त्यहाँबाट निकाल्ने वा १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ऐनमा प्रावधान छ।

