• ट्रेण्डिङ्ग :
प्रचण्डको चेतावनी- माओवादी कमजोर भए आन्दोलनको उपलब्धि गुम्छ

प्रचण्डको चेतावनी- माओवादी कमजोर भए आन्दोलनको उपलब्धि गुम्छ


  • 3.9K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    प्रचण्डको चेतावनी- माओवादी कमजोर भए आन्दोलनको  उपलब्धि गुम्छ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्ने बताएका छन् । उनले इमानदार भएर जनतामा जान पार्टीका नेता -कार्यकर्तालाई आग्रह गरेका छन् । 

    images

    माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने जनाए ।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको उनको भनाइ छ । उनले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गरेका छन्।

     पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराए।  उनले भने, 'पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ । त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।'

    माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात् गरेको खण्डमा खासरूपमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उनको भनाइ छ ।

    वामपन्थी र कम्युनिष्ट पार्टीको एकताबाट समृद्धिको सपना पूरा हुन्छ भन्ने देखेर प्रक्रिया अगाडि बढाइएको भए पनि चरम व्यक्तिवाद र अहंकारका कारण त्यो सफल नभएको बरु प्राप्त उपलब्धि विघटनमा पर्ने अवस्था देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

    माओवादीकै जोडबलमा प्रतिनिधिसभाको विघटन तथा प्रतिगमनलाई सफल हुन नदिइएको र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्भव भएको उनको भनाइ छ । 'माओवादी कमजोर भयो भनेको दिन परिवर्तनको रक्षा गर्न सकिँदैन । यो पार्टी बलियो हुनुपर्छ र समाजवादको आधार तयार पार्नुपर्छ,' प्रचण्डले भने।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले माओवादी आन्दोलन पुनः एकपटक जागृत भएर आउने सम्भावना रहेको जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि नेपाली जनताले माओवादीकै हातमा देशको चाबी दिन लागेको अनुभूत भएको उनको भनाइ छ । कार्यक्रममा दिवंगत नेता बोगटीको व्यक्तित्वका बारेमा नेताहरुले चर्चा गर्दै उनीबाट सिक्नुपर्ने सादगी व्यवहार र चरित्र अनुकरणीय रहेको बताए ।


    तेस्रो आँखा