काठमाडौं । जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला फेला पारेको हो ।
खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो ।

विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।

गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरले सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं टुकुचा खोलाको खोजीमा जुटेको थियो ।
महानगर टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको हात्तीसारमा रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि आज डोजर लिएर पुगेको हो ।
