काठमाडौं । आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालयले शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ ।
वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २०औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँद्धे माग राखेर धनगढीमा पाँचदिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर उनले औषधि लिन मानेका छैनन्।
उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
उनको शरीरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।
केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिन अस्वीकार गरेका छन् । हाल शुद्ध पानी, नर्मल स्ला इन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकीय टोलीबाट नियमित स्वास्थ परीक्षण गराइ शरीरको अक्सिजन, मुटुको धडकन र रक्तचाप अनुगमन भइरहेको अस्पतालले जनाएको छ ।
