काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही गर्ने निर्णय गरेको छ ।
निर्वाचन सम्बन्धी कानुन तथा आचार संहिताबमोजिम निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजार ६२४ जना उमेदवारलाई कारबाही गरिने आयोजका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले महानगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवारलाई सात लाख ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने बताएको छ । यस्तै, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख र उपप्रमुख उमेदवारलाई चार लाख ५० हजार रुपैयाँ र गाउँपालिका प्रमुख र उपप्रमुखका उमेदवारलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । उक्त जरिबाना छ महिनाभित्र पेस गर्नुपर्नेछ ।
कारबाहीमा पर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धरानका उपमेयर हर्क साम्पाङ समेत रहेका छन् ।
कसलाई कति जरिवाना ?
(क) महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु.७,५०,००० (सात लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(ख) महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु ३,००,०००(तीन लाख) रुपैयाका दरले जरिवाना गर्ने,
(ग) उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ५,५०,०००।(९पाच लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(घ) उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही दुइ लाख पचास हजार रुपैयाका दरले जरिवाना गर्ने,
(ङ) नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ४,५०,०००(चार लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(च) नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु। २,००,०००।(दुई लाख) रुपैयाका दरले जरिवाना गर्ने,
(छ) गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही ३,५०,०००(तीन लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(ज) गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु १,५०,०००।(एक लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने ।
