काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका छन् ।
बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए ।
'हिजो संसद्को अधिवेशन समाप्त भयो । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भयो । त्यसो भएपनि त्यो महाभियोग पारित भएन । दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो,' ओलीले भने, 'त्यसमा सत्ता पक्षले उहाँलाई ढिलो गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो ।'
उनले प्रधान्यायाधीशमाथि सत्ताको दुरुपयोग भएको आरोप लगाए । 'सत्तामा पुगेर सेना प्रहरी हातमा लिएर जे पनि गर्ने रु घर घेर्ने नजरबन्द राख्ने ?,' ओलीले थप प्रश्न गरे, 'अभियोग सरकारले पुष्टि गर्नुपर्ने गरेन । प्रधानन्यायाधीशले के गर्ने ?'
उनले प्रस्ताव दर्ता गरेर पारित नगर्नु भनेको सत्तापक्ष आफैँले थापेको पासोमा परेर सफाइ दिएको बताए । उनले सत्ता गठबन्धन निर्लज्जहरूको नाम भएको भन्दै उनीहरूका विषयमा धेरै टिप्पणी नगर्ने बताए ।
'अर्को संसद्ले लिनेगरी प्रतिवेदन बुझाएको छ नि ? भन्ने प्रश्नमा ओलीले सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गरे । 'अच्छा त्यसले पनि पारित गरेन भने ? अर्को सभामुखले पनि घर्रामा राख्यो भने फेरि अर्को संसद्ले गर्ने ?,' प्रश्न गर्दै ओलीले भने, 'तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्छ । यो जिन्दगी भरि चलाउने विषय होइन । कार्यकाल हुन्छ, अवधि हुन्छ, संसदीय प्रक्रिया टुंग्याउने विधि हुन्छ ।'
उनले रुसी शासकले अदालतमाथि गोलाबारुद गरेको भन्दै अहिले पनि त्यस्तै अवस्था देखिएको बताए ।
यस्तै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग पास हुन नसकेको भनेर संसद् सचिवालयले पत्र लेख्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले महाभियोगको विषयमा संसद्ले अदालतलाई पत्र पठाउनुपर्ने बताए।
‘संसद् सचिवालयले के लेख्नुपर्छ भने संसदको कार्यकाल भरिमा यो पास हुन सकेन भनेर लेख्नु पर्छ,’ ओलीले भने,‘३ महिना भित्रमा पूरा गर्नु पर्नेमा ७ महिनासम्म अघि बढाएन।’
एमालेले सत्ता पक्षको यस्तो कदमको कडा विरोध गर्ने ओलीको भनाइ छ। ‘सत्ता पक्षको यस्तै गैरजिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्छ,’ ओलीले भने, ‘एमाले लोकतान्त्रिक मूल्य मान्यताअनुसार शासन चल्नु पर्छ भन्ने माग गर्छ।’
