काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गरेर आयोगले संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्न आग्रह गरेको हो । यस्तो अधिकारहरूमा अवरोध पुग्नु नहुने आयोगको ठहर छ ।
'जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतस् संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,' आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले जबराको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको जनाएको छ ।
'आयोग टोलीले त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरे भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ,' आयोगले भनेको छ ।
