काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले नेपाल समस्यामा फसेको बताउँदै अब नेपाली सेनाले देशलाई निकास दिनुपर्ने बताएका छन् । स्वतन्त्र कानुन व्यवसायीले गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै रायमाझीले अब सेनाले देशलाई निकास दिनुपर्ने बताएका हुन् ।
यस्तै उनले देश अहिले अराजकताको अवस्थामा रहेको बताए । जनहितविपरित जारी भएको संविधान पूर्ण रुपमा निस्तेज भएको उनको भनाइ थियो ।
उनले चोलेन्द्रलाई बलिको बोको बनाएर दलहरुले राजनीति गरिरहेको पनि टिप्पणी गरका छन् । उनले अब नेपाली नागरिकहरु चुप बस्न नहुने भन्दै देश जोगाउने जिम्मेवारी आम नागरिकको पनि भएको भन्दै सडकमा आउन आह्वान गरे ।
उनले अहिले न्यायालयमा आगो बालिरहेको भन्दै आगो लगाउने तत्वको खोजी गर्नुपर्ने पनि बताए । अहिलेको व्यवस्थाबाट जनता आत्तिसकेको उनको भनाई थियो । उनले भने,‘यो छापामार शैलीमा ल्याईएको संविधानले देशमा स्थायित्व दिँदैन, अब यो व्यवस्थाको विकल्प खोजी गर्नुपर्छ ।’
रायमाझीले एमालेलाई तेस्रो लिंगी पार्टीको संज्ञा दिँदै उनले एमालेले निलम्बित प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबरालाई सहयोग नगरेको आरोप लगाए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता जुक्तिजन लामिछाने, आकृति रायमाझी, अधिवक्ता पृथ्वीराज राई, वक्ता गणेश गिरी लगायतके उपस्थिति रहेका थियो ।
