अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता र तालिबानको सरकार गठनपछि पहिलोपटक दुई देशका प्रतिनिधिको बैठक कतारको राजधानी दोहामा सम्पन्न भएको छ।
अमेरिकी अधिकारीले बैठकलाई स्पष्ट रुपमा व्यवसायिक बताएका छन्। तालिबानको अन्तरिम सरकारलाई उसको कामको अधारमा मूल्यांकन गर्ने अमेरिकी अधिकारीले बताएका छन्।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसका अनुसार दोहामा भएको वार्तामा अमेरिकी अधिकारीले सुरक्षा र आतङ्कवादसँग जोडिएको चिन्ता, अमेरिकी नागरिकको सुरक्षित स्वदेश फिर्ता, अन्य विदेशी नागरिकको सुरक्षा, अफगानिस्तानका जनताको सुरक्षा र महिलाको उचित सहभागिताजस्ता मानवअधिकारका मुद्दामा ध्यान आकर्षण गर्ने कोशिश गरेका थिए।
उनका अनुसार दुवै पक्षले अफगानिस्तानका जनताका लागि अमेरिकी मानवीय सहायताबारे पनि छलफल गरिएको थियो।
प्राइसले एक बयानमा भने, ‘यो वार्ता स्पष्ट र व्यवसायिक थियो। यसमा अमेरिकाले एक पटक पुनः तालिबानलाई उसको बोलीमा होइन कि कामको अधारमा मूल्यांकन गर्नेछ।’
उनले दुई देशका प्रतिनिधिबीच भएको सम्झौताबारे भने केही खुलाएनन्।
