काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले ४१औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित देशैभर प्रदर्शन गरेको छ ।
काठमाडौंमा रहेको रुसी दूतावासअगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुस र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुस : युद्ध रोक, शान्ति प्रवर्द्धन गर, रुस : युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
धर्नापश्चात रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समाजका तर्फबाट लेखिएको पत्र दूतासवासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै असोज ५ गते शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाले धर्ना तथा प्रदर्शन गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जनाकारी दिइन् ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराममार्फत शान्तिको आदर्शलाई सुदृढ गर्न समर्पित दिनका रुपमा विश्वभर शान्ति दिवस मनाइँदै आएको छ ।
