काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको जनाएका छन् । काठमाडौंमा शुक्रवार आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको जनाए । पार्टीभित्र सन्तुलन नभएको जनाउँदै उनले सबैलाई सही ढंगले नहेरिएको पनि बताए ।
कांग्रेसभित्र सही ढंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको महामन्त्री थापाको भनाइ छ । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरेका छन् ।
पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकता बोध हुन थालेको दाबी गरे । उनले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने साहस थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै महामन्त्री थापाले सरकारको आलोचना गरेका छन् ।उनले सरकार मात्र चुनाव लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको गुनासो गरेका छन् ।
पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको जनाए । महामन्त्री थापाले चाडबाडको बेलामा डेंगुले जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्ने जनाए ।
