काठमाडौं । लेबनानबाट शरणार्थीहरु लिएर गइरहेको डुंगा सिरियाको समुद्री तटमा दुर्घटना हुँदा ३४ शरणार्थीको मृत्यु भएको छ ।
सोही दुर्घटनामा ३४ जनाको शव फेला परेको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको हो । साथै जीवितै उद्धार गरिएका २० जनालाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गत मंगलबार लेबनानको उत्तरी मिन्ये क्षेत्रबाट लेबनानी, सिरियाली तथा प्यालेस्टाइनी शरणार्थीहरु लिएर गएको डुंगा सिरियाली तटमा पुगेपछि पल्टिएको हो ।
डुंगामा कति जना सवार थिए भन्ने स्पष्ट नभए पनि १५० जनाभन्दा बढी शरणार्थी रहेको अनुमान गरिएको छ । लेबनानको आर्थिक अवस्था नाजुक बनेपछि लेबनानी तथा त्यहाँँ बस्दै आएका शरणार्थीहरु युरोपेली देशतर्फ भाग्ने क्रममा दुर्घटना भएको हो । -बीबीसी
