म्याङ्लुङ । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशभन्दा आफ्नै गाउँमा राम्रो कमाइ गर्न थालेका छन् । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्केर २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरे विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेका हुन् ।
कोरोनाका कारण घर फर्केर गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा थिए । त्यत्तिकैमा आफ्नो पुख्यौंली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उनको मनमा आयो ।
त्यसैले विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय लिएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत गर्यो ।
अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै थुमालाई २० हजारदेखि ३० हजारसम्ममा बेच्ने गरेको गुरुङले बताए । खसी, बोका, बङ्गुरभन्दा पनि भेडा बढीमा बिक्री हुने उनको दाबी छ । हाल गुरुङसँग ५० भन्दा बढी भेडा छन् ।
घर नजिकै गुरुङको भेडीगोठ छ । परिवारका आठ सदस्यको लालनपालन खर्च भेडापालनबाट हुने आम्दानीबाट चल्दै आएको उनले बताए । ‘घरखर्च कटाएर केही रकम बचत हुन्छ’, गुरुङले भने, ‘अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ ।’ गुरुङले भेडापालनबाट वार्षिक तीन लाखको हाराहारीमा आम्दानी हुने गरेको बताउँछन् ।
देवी–देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरुङको घरमै आउने गरेका छन् । गाउँछेउकै जङ्गलमा प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उनी बताउँछन्, ‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन् ।’
आफ्नै गाउँठाउँमा मेहेनत गरियो भने विदेशमा भन्दा राम्रो कमाइ हुने भएकाले विदेश नजान गुरुङ अरुलाई सुझाव दिँदै आएका छन् ।
