काठमाडौं । जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले राष्ट्रपतिविरुद्ध आन्दोलनको घोषणा गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको राजीनामा समेत मागेको हो ।
संघीय संसदका दुबै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि जसपाले आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा छलफल गरिने जसपाले जनाएको छ । मधेशका लाखौँ जनता नागरिकताबाट बञ्चित हुनुपरेको भन्दै जसपा सडक संघर्षमा उत्रिन लागेको हो ।
जसपाका भातृ संगठनहरुले ११ असोजमा राष्ट्रपतिको पुत्ला दहन गर्ने, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने, असोज १५, १६ र १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने जसपा प्रचार विभागले जनाएको छ ।
